-->
पानीझरिले पनि रोकेन गोर्खाल्याण्डको जुलुस

पानीझरिले पनि रोकेन गोर्खाल्याण्डको जुलुस

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 जुन 2017। पानी लगातार परिरहेको अवस्थामा पनि छुट्टै राज्य गोर्खाल्याण्डको मागमा निस्केको भीडलाई आज रोक्न सकेन। कालेबुङमा अनिश्चितकालिन बन्दको छैट्टौँ दिन पनि छुट्टै राज्य गोर्खाल्याण्डको नाराबाजी गर्दै पानी झरीमा पनि मानिसहरू सडकमा निस्केर जुलुस निकालेका थिए। मौसम बिग्रेपनि छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा निस्केका मानिसहरूको उत्साह भने उत्तिकै देखिन्थे। 
सदा झैँ आज पनि कालेबुङको डम्बर चौकबाट मानिसहरूले पानीझरीमा छाता ओडेर नै जुलुस निकालेका थिए। ‘जय गोर्खा ! जय गोर्खाल्याण्ड’को नाराबाजी गर्दै जुलुसले कालेबुङ शहर परिक्रमा गरेको थियो। 
गोर्खाल्याण्डको पक्षमा निस्केका जुलुसले कालेबुङ शहर परिक्रमा गरिसकेपछि डम्बर चौकमा नै आइपुगेर पथसभामा परिणत भएको थियो। जुलुसमा आज पनि गोजमुमो, क्रामाकपा, जन आन्दोलन पार्टी, गोरामुमो लगायत विभिन्न अराजनैतिक संघ संस्थाका प्रतिनिधीसँगै शैक्षिक संस्थानका शिक्षक शिक्षिकावर्गको पनि उपस्थिति रहेको थियो। 
पश्चिम बङ्गाल सरकारले बङ्गाला भाषालाई अनिवार्य बनाउने घोषणाको विरोध पछि सुरु भएको विरोध जुलुस दार्जीलिङमा गोलिबारीमा टुङ्गेपछि अहिलेघरी छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको बाटोमा अग्रसर बनेको छ। एकमात्र छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका निम्ति सम्पूर्ण जनता अहिलेघरी सडकमा ओर्लिने क्रम जारी रहेको छ। यतिखेर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन कुनै राजनैतिक दल विशेषले मात्र उठान नगरेर सम्पूर्ण जनताले चलाएको आन्दोलन नै बनेको छ। 
दैनिक हजारौँ जनता सडकमा ओर्लिरहेको घट्नाले गोर्खाल्याण्डको आन्दोलन अब जनताले चलाएको जन आन्दोलन भएपछि पहाडका राजनैतिक दलहरूलाई पनि जन आन्दोलनलाई सही बटोमा डोहोर्‍याएर लैजानुपर्ने बाध्यता आइपरेको छ। 
यता कालेबुङमा जुलुस पछि सम्पन्न भएको पथसभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो पार्टीका नेतृत्ववर्गले पनि जन आन्दोलनलाई अब नेताहरूले धोका दिने कार्य गर्न नहुने चेतावनी दिँदै जन आन्दोलनलाई नेतृत्वले धोका दिन खोजे जनताले नेतृत्वलाई नछोड्ने चेतावनी पनि दिएका थिए।

0 Response to "पानीझरिले पनि रोकेन गोर्खाल्याण्डको जुलुस"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.