-->
कालेबुङ शहर एका-एक भयो बन्द

कालेबुङ शहर एका-एक भयो बन्द

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 8 जुन 2017 । डी.के. वाइबा, कालेबुङ 8 जुन। दार्जीलिङमा पुलिसले हवाई फायर गर्नका साथै अश्रु ग्यास छोडेपछि कालेबुङ शहर एका-एक बन्द भएको थियो। 
दार्जीलिङमा वातावरण बिग्रेको खबर कालेबुङ शहरमा डडेलो झैँ सल्केपछि एका-एक शहर बन्द भएको हो। पुलिसले गोलि चलाएर गोजमुमो कार्यकर्ताहरू घाइते भएको अफवाह कालेबुङ शहरमा फैलिएपछि मोर्चा कार्यकर्ताहरू डम्बर चौकमा भेला हुन थालेका थिए। सोहिक्रममा दोकान पाट बन्द हुन सुरु भएको हो। 
एकपछि अर्को गर्दै दोकान पाट बन्द हुन थालेपछि केहि क्षणमा नै शहरका सम्पूर्ण दोकान पाटहरू बन्द भएको थियो। दोकान पाट बन्द भए पनि वाहनहरूको चलाचल भने सुचारु बनेको थियो। त्यसपछि गोजमुमो कार्यकर्ताहरू भेला भएर ‘मुख्यमन्त्री ममता ब्यानर्जी हाई!हाई!!’ जस्ता नाराबाजी गर्दै विरोध प्रदर्शन गर्न थालेका थिए। 
यहाँको डम्बर चौकमा मोर्चा कार्यकर्ताहरू नाराबाजी गर्दै विरोध गर्न थालेपछि पुलिस प्रशासन पनि व्यापक रुपले तैनात बनेका थिए। स्थितिलाई मध्यनजर राखेर कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादव आफै पनि पुलिस दस्ताका साथमा सडकमा ओर्लिएका थिए। 
यद्यपी कालेबुङमा भने कुनै अप्रिय घट्ना हुन पाएन। यसक्रममा मोर्चा कार्यकर्ताहरूले डम्बर चौक देखि थाना डाँडासम्म विरोध जुलुस निकालेर जोडदार प्रदर्शन गरे भने पछि पुन: डम्बर चौकमा आइपुगेर धेरै लामो समयसम्म सडकमा नै बसेर विरोधमा नाराबाजी गरिरहे। उनीहरूले सडकमा नै बसेर विरोध प्रदर्शन गर्न थालेपछि भने यान वाहनहरूको चलाचल पनि ठप्प बनेको थियो। पछिबाट गोजमुमो कालेबुङ जिल्ला अध्यक्ष डा. आर. बी भुजेलले भोलि मोर्चाले सम्पूर्ण पहाड 12 घण्टाका निम्ति बन्द डाकेको घोषणा गरेपछि उक्त विरोध प्रदर्शन समाप्त भएको थियो।

0 Response to "कालेबुङ शहर एका-एक भयो बन्द"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.