-->
कालेबुङमा बन्द शान्तिपूर्ण : सेनाले गर्‍यो फ्लाग मार्च

कालेबुङमा बन्द शान्तिपूर्ण : सेनाले गर्‍यो फ्लाग मार्च

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 9 जुन 2017। गोर्खा जनमुक्ति मोर्चाले डाकेको 12 घण्टाब्यापी पहाड बन्दको असर कालेबुङमा पूर्णरूपले परेको छ। बन्दलाई लिएर कालेबुङ शहरमा बिहानैदेखि मोर्चा समर्थकहरू सडकमा ओर्लिएका थिए। बन्दको कारण शहरका सम्पूर्ण दोकानपाटहरू पूर्णरूपले बन्द रहेको थियो भने सरकारी वाहन बाहेक अन्य वाहनहरूको चलाचल ठप्प रहेको थियो। 
बन्दको कारण घुम्न आएका पर्यटकहरूलाई सकुशल सिलगडी फर्काउनका निम्ति सरकारी बस सेवालाई पुलिसको सहयोगमा चलाउने कार्य भएको थियो। कालेबुङबाट पुलिसको सहयोगमा मोठ 7 वटा सरकारी बस पर्यटकहरू बोकेर सिलगडी प्रस्थान गर्न सफल भएको थियो। पर्यटकहरूलाई बन्दमा कुनैपनि असुविधा नहोस भन्ने हेतुले बिशेष गरेर प्रशासनले सक्रिय कार्य गरेको थियो। यसअवधी कतिपय पर्यटकहरूले राज्य सरकारको कारणले गर्दा नै पहाडमा अशान्ति सिर्जना भएको आरोप समेत लगाएका छन्। 
यसक्रममा कोलकोताबाट कालेबुङ घुम्न आएका तपस मित्रले पत्रकारहरूसँग कुराकानी गर्दै आफुहरू आगामी आइतबार सम्मका निम्ति कालेबुङमा बस्ने योजना भए पनि बन्दको कारण अशान्ति सिर्जना हुन डरले आज नै फर्किएको बताएका छन्। ‘पहाडमा अचानक जसरी अशान्त वातावरण सिर्जना भएको छ यो हुनको सम्पूर्ण जिम्मेवार राज्य सरकार हो। राज्य सरकारले नै पहाडमा यसरी अशान्ति सिर्जना गर्दा यहाँको वातावरण अशान्त भएको हो’ तपस मित्रले भने। सोहिक्रममा यता कोलकोताबाटै कालेबुङ घुम्न आएका सौमित्र मण्डले पनि पहाडको शान्तमय वातावरणलाई अशान्ति बनाउँनमा राज्य सरकार पूर्ण जिम्मेवार रहेको आरोप लगाएका छन्। 
‘हामी घुम्न आउँदा यहाँ शान्ति थियो। अचानक दार्जीलिङमा राज्य सरकारले धरना गर्नेहरूलाई लाठी चार्ज गर्दा जसरी स्थिति बिग्रेको छ त्यसमा राज्य सरकार जिम्मेवार हो’ सौमित्र मण्डलले भने। यता बन्द अवधी आज कालेबुङमा पनि सेनाले फ्लाग मार्च गरेको छ। दार्जीलिङमा हिजो धर्नाको अवधी स्थिति बिग्रेपछि राज्य सरकारले सेनालाई गुहार मागेपछि आज कालेबुङमा पनि स्थितिलाई बिग्रिन नदिनका निम्ति बिहानै सेना उतारेको थियो। सेनाले कालेबुङमा कुनै पनि अशान्ति हुन नदिनका निम्ति बिहानै कालेबुङ थाना अघिदेखि फ्लाग मार्च गरेको हो। राज्य प्रशासनले विकट परिस्थितिमा कुनैपनि स्थानमा सेनालाई तैनाथ गर्ने कार्य हुने गरे पनि कालेबुङमा भने कुनै पनि स्थिति बिग्रन अगावै सेना उतारेको घट्ना यो नै पहिलो हो। 
राज्य सरकारले क्षेत्रमा शान्ति सुरक्षालाई बनाएर राख्नका निम्ति अघिका हिंसात्मक आन्दोलनमा ल्याएका सीआरपीका जवानहरू तैनाथ रहेपनि यसपालि भने आन्दोलनले त्यति उग्र रुप नलिइनै सेना उतारेको घट्नाले सबैजना अचम्भित भएका छन। बिहान कालेबुङ शहरमा सेनाले फ्लाग मार्च सुरु गरेपछि बन्द समर्थकहरूले जोडदार रुपले बन्दे मातरम ! जस्ता नाराबाजी पनि लगाएका थिए। राज्य सरकारले बन्द अवधी शान्ति बनाएर राख्नका निम्ति व्यापक रुपले पुलिस प्रशासन, सीआरपी अनि सेनालाई समेत सडकमा उतारे पछि बन्दको अवधी कहीँ कतै अप्रिय घट्ना घटेको समाचार प्राप्त भएको छैन। 
बन्दलाई सफल पार्नका निम्ति बिहानै देखि सडकमा ओलिएका मोर्चा समर्थकहरू निर्धारित समयसम्म नै सडकमा बसेका थिए। अर्कोतर्फ यता 12 घण्टा बन्दको अवधी कालेबुङको 9 माइलमा आज बन्द समर्थकहरूले वाहनको चक्का जलाएर विरोध गरे । बन्द अवधी पुलिस प्रशासनको सहयोगमा सरकारी बसले कालेबुङबाट पर्यटकहरू सिलगडी लाने कार्य गरिरहेको समयमा बन्द समर्थकहरूले नोभेल्टि परिसरमा वाहनको चक्का सडकमा नै जलाएर यातायातमा वाधा ल्याउन विरोधको प्रदर्शन गरेको थियो। 
बन्द समर्थकहरूले सडकमा वाहनको चक्का जलाएर विरोध गरेपछि तत्कालै घट्ना स्थलमा पुलिस तैनाथ गरिएको थियो भने आगोलाई अग्निसमन विभागका कर्मीहरूले तत्कालै निभाउने कार्य गरेको थियो। यस अवधी पुलिसले वाहनको चक्का जलाएर अशान्ति फैलाउन खोजेको आरोपमा दावा तामङ नाम भएका युवकलाई सोधपुछ गर्नका निम्ति पक्राऊ गरेको थियो।

0 Response to "कालेबुङमा बन्द शान्तिपूर्ण : सेनाले गर्‍यो फ्लाग मार्च"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.