-->
विमल गुरुङको बयानले जनता अलमल्ल .... राजनैतिक दलसँगै आम जनताले जताए असन्तुष्टि

विमल गुरुङको बयानले जनता अलमल्ल .... राजनैतिक दलसँगै आम जनताले जताए असन्तुष्टि

डी के वाइबा, कालिमन्युज, कालेबुङ २३ जुन। ‘जीटीएका सम्पूर्ण सभासदवर्गले राजीनामा दिएपछि अब अल पार्टी च्याप्टर क्लोज हुन्छ’ गोजमुमो पार्टीका अध्यक्ष विमल गुरुङले बिहिबार दार्जीलिङमा उक्त बयान दिएपछी आज बिहानै देखि कालेबुङमा चर्चाको विषय बन्यो। गुरुङको बयान र बयानको भिडियो सोसियल मिडिया फेसबुकमा आएपछि अधिकांश मानिसहरूले नै नकारात्मक टिप्पणी गरेका थिए। 
उनले पुन यस बयानलाई अल पार्टी होइन जीटीएबाट राजीनामा दिएपछि यसको च्याप्टर पो क्लोज भनेको हु भन्ने स्पष्टिकरण दिएर सच्च्याएकाले ए त्यसो भए ठीकै छ भनेर ढुक्कै भयो भन्नेहरु धेरै भएता पनि हिजोको कुरो आज दिनभरिनै जताततै दोहोरिरह्यो।
इन्टरनेट बन्दको कारण उक्त बयान सदा झैँ भाइरल नभएपनि केहि मात्रमा इन्टरनेटको उपभोग गरिरहेका मानिसहरूले वाट्सएपमा पनि गुरुङको बयान वितरण गरेका थिए। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चारैतिर चर्किरहेको अवस्था अनि दार्जीलिङमा गोर्खाल्याण्ड माग्ने राजनैतिक दलहरू एउटा मञ्चमा आएर आन्दोलनलाई अघि बडाउने प्रारम्भिक प्रक्रिया सुरु भइरहेको बेला मोर्चा प्रमुख गुरुङको बयानले सम्पूर्ण मानिसहरूलाई नै निराश बनाएको थियो। जसको कारण छुट्टै राज्य गोर्खाल्याण्डको मागमा निस्कने जनताको भीड आज कालेबुङमा स्वस्फुर्त घटेको थियो। सदाझैँ कालेबुङमा मानिसहरूले छुट्टै राज्य गोर्खाल्याण्डको मागमा नाराबाजी गर्ने कार्य गरेपनि विमल गुरुङको बयानपछि आज जुलुसमा निस्कने जनताको भीड र भीडको उत्साह घटेको थियो। जुलुसमा निस्केका मानिसहरू पनि मोर्चा अध्यक्ष विमल गुरुङको बयानप्रति रुष्ठ देखिन्थे।
‘सम्पूर्ण गोर्खाहरूको माग केवल गोर्खाल्याण्ड मात्र हो। यतिबेला पहाडका गोर्खाल्याण्ड माग्ने दलहरू पनि एक भएर अघि बढ्ने कार्य गर्दैछन्। देश विदेशबाट पनि गोर्खाहरूले गोर्खाल्याण्डको आवाज उठाइरहेका छन्। यस्तो अवस्थामा सामुहिक नेतृत्वले गोर्खाल्याण्डको आवाजलाई दह्रोतरिकाले अघि बढाउने आवश्यकता हुँदा विमल गुरुङले ‘अल पार्टी च्याप्टर क्लोज’ भन्नु आन्दोलनलाई पछिल्लतिर धकेल्नु हो। यस्तो बयानले हामी साधारण गोर्खाल्याण्ड प्रेमी जनतालाई आघात पुगेको छ’ जुलुसमा हिँडेका हरिभक्त शर्माले भने।
‘आन्दोलन सही दिशामा अघि बड्दै गर्दा विमल गुरुङले यस्तो बयान दिनु दुर्भाग्यजनक हो। अहिलेघरी केवल आन्दोलनलाई अघि बढाउँनका निम्ति कसरी सबै एकबद्ध हुनसक्छौँ भन्ने सोंचेर नेतृत्वले रणनीति बनाउनुपर्ने अवस्थामा छुटिने बयान दिनु दुखद घट्ना हो’ कलेजका छात्र प्रविण राईले भने। आफुहरूको समय यतिबेला अध्ययनको समय भए पनि छुट्टै राज्यको आवश्यक्तालाई ध्यानमा राखेर दैनिक जुलुसमा निस्किने कार्य गरिरहेको बताउँदै उनले नेतृत्वले कुनैपनि बयान दिनभन्दा अघि सोंच्नपर्ने आह्वान पनि गरेका छन्।
यता अर्कोतर्फ 56 वर्षिय हरिमाया छेत्रीले पनि मोर्चा अध्यक्ष विमल गुरुङको बयान छोराको फोनमा सुनेपछि दुख लागेको बताए। ‘हामी हाम्रा छोरा-छोरीको भविष्यका निम्ति आन्दोलनमा निस्केका हौँ। हामीलाई कुनै राजनैतिक दलसँग सरोकार छैन। सरोकार केवल गोर्खाल्याण्ड राज्य गठन हुनसँग छ। यस्तो अवस्थामा जनतालाई धोका दिने कार्य नेताहरूले गरे जनताले नेतृत्वलाई माफी गर्दैनन्’ हरिमाया छेत्रीले भनिन्।
'एकातिर हामी युवाहरुको जमातले अब म र त पार्टी होइन तर आ-आफ्नो पार्टीको झण्डा सबैले कुनै दुख मन नगरी थंक्याएर झण्डा विहिन या राष्ट्रिय या अरु कुनै साझा झण्डा लिएर् आउनु पर्ने आह्वान हामी गर्न लागेको समय यो त खुबै स्वार्थी कुरो भयो,' बाहिर अध्ययन गर्दै गरेका तर हालमा विदामा घर आएका सुनन्दा र बिरेनले एकै स्वरमा भने। 'जसले आफ्नो झण्डा बोकेरै जुलुसमा आउछ, छॉड्नै सक्तैन उसलाई जातीको होइन पार्टीको बेसी माया छ त्यसलाई स्वार्थी भन्नु पर्छ भन्ने हामीलाई लागेको छ,' सुनन्दा प्रधानले अझै थपिन। 
'अब मुद्धा पनि होइन, विकाश पनि होइन, केवल गोर्खाल्याण्ड मात्रै हाम्रो माग र लक्ष्य हो यसलाई कसरी हासिल गराउनु पर्ने  सो नेताहरुको मथिंगलमा यतीमात्रै आउनुपर्छ व्यक्ति र व्यक्तित्व अनि पुराना पुर्वाग्रहहरु होइनन नब मात्रै हाम्रो सपोर्ट यथावत रहनेछ,'बिरेन विश्वले थपे।

यता गुरुङको बयानप्रति क्रामाकपाले पनि दु:ख प्रकट गर्दै यस्तो बयानले जनतालाई बिभ्रान्ति सिर्जना हुने दाबी गरेको छ। गोजमुमो प्रमुख विमल गुरूङले हालैमा दिएको वक्तव्यले हामीमा अन्योलता साथै जनतामा व्यापक विभ्रान्ति र निरासा पैदा गरेको छ। आन्दोलनलाई नेतृत्व गर्ने एक प्रमुख दलको नेताले यस्तो किसिमको वक्तव्य दिनु गोर्खा एकताको निम्ति शुभ होइन क्रामाकपा कालेबुङ आञ्चालिक कमिटिका प्रवक्ता मोहन पौड्यालले भने।
गुरुङको वयान पछि यता क्रामाकपा कालेबुङ आञ्चालिक कमिटिको आपतकातकालिन वैठक पनि सम्पन्न भएको थियो। बैठकपछि पार्टीले तयार पारेको ४ बुँदे विज्ञप्ती सार्वजनिक गरेको छ।
गोर्खाल्याण्डको आन्दोलनलाई अझ असरदार बनाउनको निम्ति सर्वदलीय सभा चाँडोभन्दा चाँडो गरिनुपर्ने स्थितिको बोध भइरहेको समयमा घरि अल पार्टी च्याप्टर क्लोज भनेर घोषणा हुनु त घरि सभाको मिती बिलम्ब गरिनुले आन्दोलनलाई नकारात्मक प्रभाव पर्दछ भन्ने हामीलाई लागेको छ मोहन पौड्यालले अझ भने।
अर्कोतर्फ विमल गुरुङको ‘अल पार्टी च्याप्टर क्लोज’ भन्ने बयानलाई लिएर अखिल भारतीय गोर्खालिग पार्टी (अभागोलि) ले पनि आपत्ति जनाएको छ। अभागोलि पार्टीका महासचिव प्रताप खातिले गुरुङले विहिबार दार्जीलिङमा दिएको बयान वर्तमान अवस्थामा सही नरहेको भन्दै गोर्खाल्याण्डको मुद्दालाई लिएर कुनै पनि नेतृत्वले धोका दिने कार्य गरे यसपल्ट जनताले माफी नगर्ने दाबी गरेका छन्। 
‘विमल गुरुङले अल पार्टी च्याप्टर क्लोज भनेर उनले आफै जनतालाई धोका दिएका छन्। एकातिर दिल्लीमा गोजमुमो महासचिव रोशन गिरी कुदेर केन्द्रिय मन्त्रीहरूलाई भेट गर्नु अनि यता गुरुङले अल पार्टी च्याप्टर क्लोज भन्नुमा निश्चय नै कुनै रहस्य लुकेको छ’ प्रताप खातिले भने। ‘गोर्खाल्याण्डको आन्दोलन कुनै नेता र पार्टीको पेवा होइन, अब जनता आफैले निर्णय गरेर यस निर्णायक आन्दोलनलाई अघि बढाएर लानुपर्छ’ खातिले भने। 

0 Response to "विमल गुरुङको बयानले जनता अलमल्ल .... राजनैतिक दलसँगै आम जनताले जताए असन्तुष्टि"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.