-->
जापले जनायो पुलिस कार्वाहीको विरोध .... म गोर्खाल्याण्डको समर्थक हुँ, मलाई पक्राऊ गर – डा. हर्कबहादुर छेत्री

जापले जनायो पुलिस कार्वाहीको विरोध .... म गोर्खाल्याण्डको समर्थक हुँ, मलाई पक्राऊ गर – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा,कालिमन्युज, कालेबुङ 18 जुन। ‘म गोर्खाल्याण्डको समर्थक हुँ, मलाई पक्राऊ गर’ स्लोगान लेखिएका पोष्टर बोकेर जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले दार्जीलिङमा भएको पुलिसी कार्वाहीको विरोध गरेका छन्। डा. छेत्री दार्जीलिङमा भएको पुलिस अत्याचारको विरोध गर्न आफ्ना पार्टी समर्थकहरूसँग सडकमा नै ओर्लिएका थिए। जाप समर्थकहरूले पार्टी कार्यलयदेखि कालेबुङ थाना डाँडासम्म मौन जुलुस निकालेर गोर्खाल्याण्ड माग्नेहरूलाई पुलिसले गरेको अत्याचारको प्ला कार्ड बोकेर विरोध गरेका छन्। थाना डाँडामा आइपुगेका जाप समर्थकहरूले डा. छेत्रीको उपस्थितिमा कालेबुङ थाना अघिनै मौन प्रदर्शन गरेका थिए।
‘पुलिसले जसरी जीटीए प्रमुखको घर अनि मोर्चाको कार्यालायमा छापामारी कार्य गरेको छ त्यो अत्यन्तै निन्दनिय रहेको छ। हामी यस्तो कार्वाहीको विरोध गर्छौँ। मोर्चासँग हाम्रो राजनैतिक मत भिन्नता भए पनि गुरुङ जनताद्वारा निर्वाचित जीटीएका प्रमुख हुन्। निर्वाचित व्यक्तिको घर अनि कार्यालयमा यसरी छापामारी अभियान चलाउनु लज्जास्पद कुरा हो। हामी यस्तो पुलिसी कार्वाही विरोध गर्छौँ’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा पुलिसले छापामारी अभियानमा हतियार भनि देखाएका समाग्रीहरू घरेलु उपयोगका हतियारहरू रहेको बताउँदै घरमा प्रयोग गर्ने सामग्रीलाई पुलिसले हतियार भन्नु गलत रहेको पनि दाबी गरेका छन्।
‘संवैधानिक मागलाई संवैधानित प्रक्रियाद्वारा नै हासिल गर्न सकिन्छ तर यस विचमा राज्य सरकारले जसरी पुलिस लगाएर कार्वाही गर्‍यो त्यसको हामी घोर विरोध गर्दछौँ’ डा. छेत्रीले भने। यसक्रममा उनले छुट्टै राज्य गोर्खाल्याण्ड एउटा संवैधानिक माग रहेको कारण सरकारले संवैधानिक मागलाई समाधान गर्नका निम्ति टेबलमा बस्ने वातावरण सिर्जना गर्नुपर्ने पनि माग गरेका छन्। संवैधानिक मागलाई दबाउनका निम्ति यदि सरकारले आन्दोलनकारीहरूमाथि पुलिस कार्वाही गरे आन्दोलनले अझ उग्र रुप लिनसक्ने पनि बताएका छन्।
‘जापको पहिलो बुँदा नै गोर्खाल्याण्ड हो। हामी गोर्खाल्याण्डको गठनकै पक्षमा काम गरिरहेका छौँ। यो संवैधानिक माग हो। यदि संवैधानिक गोर्खाल्याण्ड माग्दा पुलिसले पक्राऊ गर्छ भने पक्राऊ गरेर देखाओस्’ डा. छेत्रीले पुलिसी कार्वाको आलोचना गर्दै भने। यसक्रममा छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्तावलाई भारतीय जनता पार्टीले राष्ट्रिय स्तरको समितिमा प्रस्ताव पारितलाई पारित नगरेको बताउँदै भाजपाले गोर्खाल्याण्डको प्रस्तावलाई पहिला पार्टीको केन्द्रिय स्तरमा पारित गर्नुपर्ने माग पनि डा. छेत्रीले गरेका छन्। उनले भारतीय जनता पार्टीका सांसदलाई पहाडका जनताले छुट्टै राज्य गोर्खाल्याण्डकै मुद्दामा चुनेर पठाएको कारण पनि भाजपाले सर्वप्रथम गोर्खाल्याण्डको प्रस्तावलाई राष्ट्रिय स्तरको समितिमा पारित गर्नु आवश्यक रहेको बताएका छन्। ‘भाजपा अध्यक्ष अमित शाहलाई जापले पत्रचार गरिरहेको छ। हामी भाजपालाई गोर्खाल्याण्डको प्रस्ताव उनीहरूको केन्द्रिय कार्यकारी समितिले पारित गरोस् भन्ने माग गर्दछौँ’ डा. छेत्रीले अझ भने। आज भाजपाले राष्ट्रिय कार्यकारी समितिमा गोर्खाल्याण्डको प्रस्ताव पारित नगरेको कारण नै केन्द्रको भाजपा र राज्यको भाजपाले गोर्खाल्याण्ड सम्बन्धि बेग्ला बेग्लै बयान दिने गरेको बताएका छन्।
डा. छेत्रीले पत्रकारहरूसँग कुराकानी गर्नेक्रममा जापले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बढाउनका निम्ति लगातार कार्ययोजना तयार पारिरहेको पनि जानकारी दिएका छन्। ‘हामी हतारमा निर्णय गरेर फुर्सदमा पश्चताप गर्न चाहँदैनौँ। गोर्खाल्याण्ड आन्दोलनलाई सहीप्रकारका अघि बढाउन जापको ब्युरो सभा निरन्तर चलिरहेको छ। यो सभा अझ हप्तादिनभन्दा धेर चल्नेछ अनि सही निर्णय बनाएर कार्य गर्नेछौँ। यो संवैधानिक मागलाई सरकारले टेबलमा बसेर नै समाधानको बाटो निकाल्नपर्छ’ डा. छेत्रीले अझ भने।
उनले आफ्नो सम्बोधनको क्रममा बङ्गालको मिडियाले छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई दबाउनका निम्ति षडयन्त्र रचिरहेको आरोप समेत लगाएका छन्। ‘बङ्गालको मिडियाले जसरी प्लास्टिकका धनुकाँड भेट्टाउँदा बम भेटेको भन्दै प्रचार गरे यो आन्दोलनलाई दबाउँने षडयन्त्र हो। हामी यस्तो कार्यको पनि जोडदार विरोध गर्छौँ’ उनले अझ भने। यसक्रममा मोर्चाले डाकेको सर्वदलिय वैठकलाई सही दिशामा लान आवश्यक रहेको भन्दै जापको सुझावलाई मोर्चाले मानिलिए अथवा त्यसबारे सकारात्मक चर्चा गरेको खण्डमा आगमी दिनमा मुद्दाका निम्ति एकबद्ध बन्ने पनि बताएका छन्। ‘सर्वदलिय आन्दोलनलाई अघि बडाउन चाहन्छ नै भने आन्दोलनको रुपरेख सबै सर्वदलियले नै तय गर्नुपर्छ। बिगतको जस्तो सर्वदलिय वैठक गरेर आन्दोलनको निर्णय एक्लै गरे त्यो सफल हुँदैन। जापले पनि सामुहिकतामा विश्वास गर्छ तर त्यसभन्दा पहिला मोर्चाले हाम्रो सुझावलाई के गर्ने हुन् त्यो तय गर्नुपर्छ अनि हामी साथ बनेर अघि बड्नेछौँ’ डा. छेत्रीले स्पष्ट पारे।

0 Response to "जापले जनायो पुलिस कार्वाहीको विरोध .... म गोर्खाल्याण्डको समर्थक हुँ, मलाई पक्राऊ गर – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.