-->
गोजमुमोले भाषणमा होइन कार्यमा गोर्खाल्याण्डको आन्दोलन गर्नुपर्छ – जाप

गोजमुमोले भाषणमा होइन कार्यमा गोर्खाल्याण्डको आन्दोलन गर्नुपर्छ – जाप

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 22 मई। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा नगरपालिका चुनाव समेत जित्ने गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सही कार्य गर्नुपर्ने जन आन्दोलन पार्टीले माग गरेको छ। 
गोजमुमोले आजसम्म केवल गोर्खाल्याण्डको कुरा मात्रै गरेको आरोप लगाउँदै गोर्खाल्याण्डको निम्ति कार्य भने नगरेको जाप युवा एकाईका केन्द्रिय समिति सदस्य पङ्कज छेत्रीले आरोप लगाएका छन्। गोर्खाल्याण्डको मुद्दामा प्रत्येक पल्ट चुनाव जित्दै आएको गोजमुमोले अब गोर्खाल्याण्डको नाउँमा भोट जितेपछि काम पनि गोर्खाल्याण्डकै निम्ति गर्नुपर्ने मागमा जाप युवा एकाईले कालेबुङको थाना डाँडा स्थित त्रिकोण पार्कमा धरना समेत सुरु गरेको छ। 
गोर्खाल्याण्डको निम्ति मोर्चाप्रति दबाऊ बनाउँदै सुरु गरेको 3 दिने धरनाकै अवधी जाप युवा एकाईका केन्द्रिय सदस्य पङ्कज छेत्रीले केन्द्रमा पूर्ण बहुमतमा रहेको भाजपा सरकार हुँदा समेत भाजपाको घटक दल भनिएको गोजमुमो पार्टीले भने आजसम्म केहि कार्य गर्न नसक्नु दुर्भाग्यजनक रहेको बताएका छन्। 
‘केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकार छ। भाजपाले सरकार बनाएको तीन वर्ष पुरा भइसकेको छ। तीन वर्षमा आजसम्म गोर्खाल्याण्ड सम्बन्धि केन्द्रमा केहि कार्य भएको छैन। न त भाजपाले कार्य गरेको छ, नत भोट जितेर जाने भाजपाका सांसद आहलुवालीयाले नै केहि कार्य गरेका छन्। यसैकारण हामीले अब गोर्खाल्याण्डको मुद्दामा भोट होइन काम गर्नुपर्छ भन्ने अडानमा धरना सुरु गरेका हौँ’ पङ्कज छेत्रीले अझ भने। 
यसक्रममा उनले पहाडमा बिस्तारै तृणमूल कङ्ग्रेसको अतिक्रमण वृद्धि सुरु भएको बताउँदै यसले पहाडवासीलाई घातक हुने पनि बताएका छन्। 
‘जनताले गोजमुमोलाई गोर्खाल्याण्डको निम्ति भोट दिएर चुनावमा जिताएको छ। गोर्खाल्याण्डको मुद्दामा भोट जित्ने गोजमुमोले जनताको निम्ति अब गोर्खाल्याण्ड ल्याउने काम गर्नुपर्छ’ छेत्रीले अझ भने। आजसम्म मोर्चाले केवल जनतालाई गोर्खाल्याण्डको नाउँमा ढाँटको राजनीति गरिरहेको आरोप लगाउँदै अब सही कार्य गर्नुपर्ने माग पनि उनले गरेका छन्। 
‘गोजमुमोले प्रत्येक् चुनावमा गोर्खाल्याण्ड भन्छ अनि चुनाव पछि चुपचाप बस्ने गर्छ। गोजमुमो नेताहरू भोटपछि चुप बसेको कारण नै जाप युवा एकाइले धरना गरेको हो’ उनले अझ भने। यसक्रममा उनले पत्रकारहरूसँग बोल्दै आउँदो लोकसभा चुनाव पहाडवासीको निम्ति अग्निपरिक्षा हुने पनि बताएका छन्। 
‘जन आन्दोलन पार्टी गोर्खाल्याण्ड विषयमा गम्भिर छ। सोहि कारण हामीले नगरपालिका चुनावमा तृणमूल कङ्ग्रेससँग गठबन्धन नगरेका हौँ। तृणमूलसँग हाम्रो मत मिल्दैन। हामी गोर्खाल्याण्डको निम्ति निस्केका दल हौ त्यसैकारण छुट्टै राज्यको निम्ति नै कार्य गर्नेछौँ’ छेत्रीले अझ भने।

0 Response to "गोजमुमोले भाषणमा होइन कार्यमा गोर्खाल्याण्डको आन्दोलन गर्नुपर्छ – जाप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.