-->
चुनावमा हार्दा जाप विचलित हुने दल होइन – डा. हर्कबहादुर छेत्री

चुनावमा हार्दा जाप विचलित हुने दल होइन – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 18 मई। गोर्खा जनमुक्ति मोर्चासँग नगरपालिका चुनावमा जन आन्दोलन पार्टीको पराजयलाई अध्यक्ष डा. हर्कबहादुर छेत्री आफैले जिम्मेवारी लिएका छन्। ‘पार्टीका अध्यक्ष भएको कारण हारको जिम्मेवारी म आफै लिँदछु’ डा. छेत्रीले स्पष्ट भने। 
जापले चुनाव जित्नका निम्ति पहाडको सत्ताधारी दल गोजमुमो अनि राज्यको सत्ताधारी दल तृणमूल कङ्ग्रेससँग जुझ्न परेको स्पष्ट पार्दै ‘सत्ताधारी दलहरूसँग जुझ्नका निम्ति पर्याप्त संसाधन हामीसँग थिएन। यसैकारण हामी चुनावमा पराजित भयौँ। यो सम्पूर्ण जिम्मेवारी म आफै लिँदछु’ डा. छेत्रीले अझ भने। 
कालेबुङ नगरपालिका चुनावको परिणाम अघि आएपछि डा. छेत्रीले पत्रकारहरूसँग कुराकानी गर्दै ‘गोजमुमो पार्टीलाई बधाई छ, उनीहरूले यसपल्ट चुनाव लडेर नै जितेका छन्। उनीहरू बधाईका हकदार छन्’ भने। यसक्रममा उनले जन आन्दोलन पार्टी चुनावमा पराजित भए पनि परिणामले आफुहरूलाई निराशा नभएको स्पष्ट पारेका छन्। 
‘जन आन्दोलन पार्टी एउटा हारमा हार मान्ने र हराइहाल्ने पार्टी होइन। हामी चुनावको हारमा हराउने भए विधानसभामा चुनावको हारसँगै हराउने थियौँ। मोर्चाले नसोचोस्, नगरपालिकाको हारमा हामी सकिंछौ भनेर। अरू पार्टी सकिन्छ जाप सकिँदैन, यो हाम्रो प्रतिबद्धता हो। हामी छौँ र रहनेछौँ। अन्य राजनैतिक दलहरू समाप्त हुँदासम्म जाप रहनेछ। जनतालाई असुरक्षाको भावनालाई त्यागेर बाहिर निस्किने अवस्थामा हामी पुऱ्याउने छौँ’ डा. हर्कबहादुर छेत्रीले अझ भने। 
उनले नगरपालिकाको सत्तालाई हेरेर जापको जन्म नभएको स्पष्टिकरण दिँदै जनताको छुट्टै राज्यको चाहनालाई टुङ्गोसम्म पुर्‍याउन निस्केको पनि दाबी गरेका छन्। ‘नगरपालिकालाई हेरेर जाप जन्मिएको होइन। जाप मोर्चाको नेतृत्वको अयोग्यतालाई ध्यानमा राखेर, मोर्चाले गरेको मूल माग टुङ्गोमा पुऱ्याउँदैन भनेर निस्किएको हो’ डा. छेत्रीले अझ भने। 
उनले नगरपालिकाको मतगणनापछिको परिणामले जापलाई विचलित नपार्ने पनि दाबी गरेका छन्। ‘हामी स्वच्छ राजनीतिको लागि निस्किएका हौँ। परिणामले बिचलित अलिकति पनि छैनौँ। पहाडको जनताले मिरिकबाहेक सबैमा मोर्चालाई नै मन पराएको रहेछ भनेर नगरपालिकाको रिजल्टले बतायो। हामी दोस्रो स्थानमा छौँ। यो मोर्चाको निम्ति खतराको सङ्केत हो’ उनले अझ भने। 
उनले नगरपालिका चुनावको परिणामले मोर्चा विरोधी भोट धेर भएको कारण जनताले मोर्चालाई रिजेक्ट गरेको स्पष्ट बनेको बताउँदै जाप त्यही जमिनबाट उठेर अर्को एउटा सशक्त आन्दोलनलाई प्रतिनिधित्व गर्नेछ भनि अझ जनाएका छन्। 
‘मोर्चालाई अलग राज्यको मुद्दालाई जनताले भोट दिएको हो तर मोर्चाले अलग राज्यको लागि एक पाइला पनि चालेको छैन। 5 वर्ष मोर्चाको एसिड टेस्ट हुन्छ। किन भने मैदानमा मोर्चा मात्र छैन, हामी पनि छौँ’ उनले अझ भने। उनले जाप चुनावमा पराजित बन्नुको एउटा कारण मन्त्री इन्द्रनिल सेनको बयान पनि रहेको बताएका छन्।

0 Response to "चुनावमा हार्दा जाप विचलित हुने दल होइन – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.