-->
गोर्खा प्रदेश एवम् गोर्खाल्याण्ड सम्बन्धि राष्ट्रिय सङ्गोष्ठि ........ नेता, नियत र नीति ठिक भए गोर्खाल्याण्ड ल्याउन सकिन्छ – त्रिलोक देवान

गोर्खा प्रदेश एवम् गोर्खाल्याण्ड सम्बन्धि राष्ट्रिय सङ्गोष्ठि ........ नेता, नियत र नीति ठिक भए गोर्खाल्याण्ड ल्याउन सकिन्छ – त्रिलोक देवान

त्रिलोक देवान
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, २५ अप्रेल। ‘छुट्टै राज्य गोर्खाल्याण्ड ल्याउनका निम्ति तीनवटा कुरा ठिक हुनपर्छ। नेता, नियत र नीति ठिक भए छुट्टै राज्य गोर्खाल्याण्ड निश्चित रूपले हुनेछ’ उक्त कुरा दार्जीलिङका पूर्व विधायक त्रिलोक देवानले भनेका हुन्। 
‘हाम्रा गोर्खाल्याण्ड ल्याउँछु भन्ने नेता, उ नीहरुको नीति र नियत नै ठिक छैन’ देवानले अझ भने। ‘मैले गोजमुमो पार्टीको फरमान पाएर विधायक पदबाट राजीनामा दिएपछि राजनीतिबाट निश्क्रिय बसेको थिएँ। राजनीतिबाट निश्क्रिय बसे पनि छुट्टै राज्य गोर्खाल्याण्ड प्रति भने सक्रिय छु अनि सक्रिय रहनेछु’। उनी कालेबुङको टाउन हलमा गोर्खा प्रदेश एवम् गोर्खाल्याण्ड सम्बन्धि आयोजित राष्ट्रिय सङ्गोष्ठिमा मुख्य अतिथिको आसनबाट बोलिरहेका थिए। 
उनले आफ्नो सम्बोधनमा गोर्खा जनमुक्ति मोर्चाको नाउँ नलिए पनि नेता, नीति र नियत ठिक नरहेको भनि गोजमुमो पार्टीका नेताहरूलाई नै इङ्गित गरिरहेका थिए। उनले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको आन्दोलनलाई अघि बढाउनका निम्ति आफुहरूले धेरै कार्य गरे पनि गोर्खाल्याण्ड ल्याउँछु भन्ने नेताको नीति र नियत ठिक नभएको कारण जनताले आजसम्म दु:ख पाइरहेको आरोप लगाए। गोर्खाहरूलाई विदेशी भन्ने कुरा निम्न अनि मध्यम वर्गीय मानिसहरूको सोंचमा मात्र नभएर ठूला ठूला सरकारी अधिकारीवर्गमा समेत रहेको बताउँदै छुट्टै राज्य गठनका निम्ति पहिला उच्च ओहोदामा बस्ने मानिसहरूको सोंचमा सही कुरा हाल्न सक्नुपर्ने उनले बताए। अहिले आएर छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति फेडरेसन फर् न्यु स्टेस् अनि राष्ट्रिय अधिकार मञ्चले समर्थन गर्नु ठूलो कुरा रहेको बताउँदै अब यस मञ्चको माध्यमबाट सरकारलाई दवाव बनाउने रणनीति अप्नाउन आवश्यक रहेको पनि देवानले बताएका छन्। 
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा फेडरेसन फर् न्यु स्टेस्का अध्यक्ष आर. के तोमरले छुट्टै राज्य गोर्खाल्याण्ड भारतको संविधानको धारा 2 अनुसार बनाउनुपर्ने माग गरेका छन्। ‘संविधानको धार 2 ले छुट्टै राज्य बनाउने क्षमता दिएको छ। जुन प्रक्रिया सजिलो हो। भारत सरकारले संविधानको सोहि धारा 2 अनुसार गोर्खाल्याण्ड गठन गरेर गोर्खाहरूलाई न्याय दिनुपर्छ’ आर.के तोमरले भने। 
उनले फेडरेसन फर् न्यु स्टेसका 18 वटा राज्यहरूमा शाखा रहेको बताउँदै यदि सरकारले न्याय नदिए आन्दोलन तिव्र रूपले अघि बढाउने चेतावनी समेत दिएका छन्। उनले त्रिपुरा राज्य लगायत उत्तरपूर्वी भारतमा अनुप्रवेशकारी बङ्लादेशीहरूको जनसङ्ख्या वृद्धि भएको कारण त्यस राज्यका आदिवासी मानिसहरू भने अल्पसङ्ख्यकमा परेको बताउँदै बङ्गाल सरकारले पनि बङ्लादेशी अनुप्रवेशकारीहरूलाई प्रश्रय दिने कार्य गर्न नहुने बताएका छन्। 
आफ्नो सम्बोधनको क्रममा उनले केन्द्रबाट पैसा थाप्नेहरूले छुट्टै राज्य ल्याउन नसक्ने दावी गर्दै गोजमुमो पार्टीका नेताहरूलाई दिल्लीबाट पैसा दिने गरेको कारण छुट्टै राज्यको माग गर्न नसक्ने बताए। 
गोर्खा प्रदेश एवम् गोर्खाल्याण्ड सम्बन्धि आज कालेबुङको टाउन हलमा राष्ट्रिय फेडेरेसनका महा सचिव किशोर सिंग वैस, डा. हर्क बहादुर छेत्री, गणेस खक्कड, सन्तोष रोय, सुधाकर चौधरी, गोरानिमो अध्यक्ष दावा पाख्रिन आदि विशेष रूपले उपस्थित रहेका थिए। यसक्रममा गोरानिमो अध्यक्ष दावा पाख्रिनले पनि छुट्टै राज्यका निम्ति फेडरेसन फर् न्यु स्टेस् अनि राष्ट्रिय अधिकार मञ्चको सहयोगले मुद्दालाई धेरै अघि बढाउन सहयोग पुग्ने दाबी गरेका छन्। 
यस अवसरमा वक्ताहरूले कार्यक्रमलाई सम्बोधन गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड गठनका निम्ति फेडरेसन फर् न्यु स्टेस् अनि राष्ट्रिय अधिकार मञ्चको पूर्ण समर्थन रहेको बताएका थिए। उनीहरूले गणतान्त्रिक भारतमा गोर्खाहरूको भाषा, साहित्य संस्कृति वेग्लै रहेको कारण गोर्खाहरूका निम्ति छुट्टै राज्य गठन हुनपर्ने बताउँदै भारत सरकारले छुट्टै राज्य गठन गरेर न्याय दिनुपर्ने माग गरेका थिए।

0 Response to "गोर्खा प्रदेश एवम् गोर्खाल्याण्ड सम्बन्धि राष्ट्रिय सङ्गोष्ठि ........ नेता, नियत र नीति ठिक भए गोर्खाल्याण्ड ल्याउन सकिन्छ – त्रिलोक देवान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.