-->
मिरिकका गोरामुमो नेता अर्जुन राई गोजमुमो पार्टीमा सामेल

मिरिकका गोरामुमो नेता अर्जुन राई गोजमुमो पार्टीमा सामेल

डी.के. वाइबा,  कालिमन्युज, कालेबुङ,  १४ अप्रेल।गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) केन्द्रिय समिति सदस्य एवम् पूर्व हिल कन्भेनर अर्जुन राईले पार्टी त्यागेर गोजमुमो पार्टीमा सामेल भएका छन्। मिरिक निवासी अर्जुन राईले आज कालेबुङमा गोजमुमो अध्यक्ष विमल गुरुङको बाहुलीबाट झण्डा ग्रहण गरेर मोर्चामा सामेल भएका छन्। 
गोरामुमो पार्टीले आगामी नगरपालिका चुनावमा तृणमूल कङ्ग्रेससँग गठबन्धन गरेर चुनाव लड्ने निश्चित गरिसकेको कारण आफुले पार्टी त्याग गरेको राईले स्पष्ट पारेका छन्। ‘अहिलेघरी बङ्गाल सरकारले पहाडका मानिसहरूमा विभाजनको नीति अप्नाएको छ। यस्तो अवस्थामा त्यहीँ जातिलाई विभाजन गर्ने तृणमूल कङ्ग्रेससँग गोरामुमो पार्टीले नगरपालिका चुनावमा गठबन्धन गरेर लड्ने निर्णय गरेको छ। त्यसैकारण मैले विभाजन नीतिको विरुद्धमा लड्नलाई गोरामुमो पार्टी त्यागेर गोजमुमो पार्टीमा सामेल भएको हुँ’ अर्जुन राईले भने। 
आफैलाई गोरामुमो केन्द्रिय समिति सदस्य अनि श्रमिक सङ्गठन एचपीडब्ल्युयुका उपाध्यक्ष अनि खर्साङ ब्राञ्च कमिटिका प्रमुख सल्लाहकार भनि बताउने अर्जुन राईले नगरपालिका चुनावमा गोरामुमोले दार्जीलिङ, कालेबुङ अनि मिरिकमा तृणमूल कङ्ग्रेससँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको दाबी समेत गरेका छन्। 
केवल गोरामुमो खर्साङ भ्राञ्च कमिटिले मात्र गठबन्धन नगरी एक्लै चुनाव लड्ने स्पष्ट पारेको थप जानकारी राईले दिएका छन्। यसबारे आफुले केन्द्रिय समितिको वैठकमा विरोध गरेर जातीय विभाजन गर्ने तृणमूल कङ्ग्रेससँग गठबन्धन गर्नु नहुने बताए पनि केन्द्रिय समितिले गठबन्धनको निर्णय गरेको आरोप लगाउँदै सोहि कारण आफुले पार्ती त्याग गरेको स्पष्टिकरण पनि दिएका छन्। 
गोरामुमो पार्टीका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको मृत्यु हुन भन्दा अघि आफुलाई गोर्खा जातिलाई विभाजन हुन नदिनु भनि बताएको दाबी गर्दै आज गोर्खा जातिलाई छिन्न भिन्न पार्ने राज्य सरकारले पहल गरेको कारण नै आफु जातिलाई एकबद्ध बनाउन मोर्चामा आएको उनले अझ बताएका छन्। 
उनले कालेबुङमा गोजमुमो अध्यक्ष विमल गुरुङको बाहुलीबाट एक्लै झण्डा ग्रहण गरे पनि उनका समर्थकहरू सम्पूर्ण गोजमुमो पार्टीमा स्वत: सामेल हुने पनि दाबी गरेका छन्। ‘हेर्दै जानुहोस, म यहाँ एक्लो झण्डा ग्रहण गर्न आएको छु तर, अब पहाडमा गोरामुमो पार्टीभित्र पैह्रो जानेछ’ अर्जुन राईले भने।

यता गोरामुमो नेता अर्जुन राईलाई झण्डा प्रदान गरेर गोजमुमो पार्टीमा सामेल गराएपछि मोर्चा अध्यक्ष विमल गुरुङले सम्पूर्ण जातिप्रेमीहरू अहिलेघरी एक बनेर गोजमुमो पार्टीमा सामेल हुने काम गरिरहेको दाबी गरेका छन्। भविष्यका दिनहरूमा अझ अन्य राजनैतिक दलका कर्मीहरू पनि बङ्गाल सरकारको विभाजन नीति विरुद्ध मोर्चामा सामेल भएर एकबद्ध हुने दाबी गरेका छन्। 

0 Response to "मिरिकका गोरामुमो नेता अर्जुन राई गोजमुमो पार्टीमा सामेल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.