-->
तृणमूल कङ्ग्रेसले बजायो चुनावी विगुल  ..... गणतन्त्रको स्थापना नै जनताको जित हो – छेवाङ भोटिया

तृणमूल कङ्ग्रेसले बजायो चुनावी विगुल ..... गणतन्त्रको स्थापना नै जनताको जित हो – छेवाङ भोटिया

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १५ अप्रेल। तृणमूल कङ्ग्रेस पार्टीले कालेबुङ शहरमा जुलुस निकालेर नगरपालिका चुनावको शंखघोष गरेको छ। कालेबुङ जिल्ला गठनको मुद्दालाई नै केन्द्र राखेर तृणमूल कङ्ग्रेसले कालेबुङ नगरपालिका चुनावको निम्ति चुनावी विगुल फुकेको छ। राज्यको चुनाव आयोगले आगामी 14 मईको दिन नगरपालिका चुनाव सम्पन्न हुने घोषणा गरेपछि सर्वप्रथम आज तृणमूल कङ्ग्रेसले शहरमा जुलुस निकालेर चुनावी विगुल फुकेको हो। 
यसक्रममा तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले 10 माइल स्थित पार्टी कार्यलयबाट एउटा चुनावी जुलुस निकालेको थियो भने उक्त जुलुसले शहर परिक्रमा गरिसकेपछि यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा आइपुगेर पथसभामा परिणत भएको थियो। पथसभालाई कालेबुङ जिल्ला तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष छेवाङ भोटिया, के.एन सुब्बा, प्रणय थुलुङ, ढेण्डुप भोटिया आदिले सम्बोधन गरेका थिए। उनीहरूले मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङ जिल्ला गठन गरेर महान कार्य गरेको दाबी गर्दै आगमी नगरपालिका चुनावमा जनताले सही निर्णय गर्नुपर्ने आह्वान गर्दै गोजमुमो पार्टीको तानाशाही शासनको अन्त्य गर्नुपर्ने आह्वान गरेका छन्। 
यसक्रममा कार्यकारी अध्यक्ष छेवाङ भोटियाले आगामी नगरपालिका चुनावमा तृणमूल कङ्ग्रेसले विजयी हासिल गरे पनि अथवा पराजय भए पनि पहाडमा गणतन्त्रको स्थापना गर्न सक्षम भएको कारण त्यो नै ठूलो जित हो भनि दाबी गरेका छन्। 
‘आगामी नगरपालिका चुनावमा हाम्रो जित अथवा हार होस् त्यसले कुनै फरक पर्दैन। हामीले पहाडमा शान्ति र गणतन्त्र फर्काएका छौँ। त्यहीँ नै तृणमूल कङ्ग्रेसको ठूलो जित हो’ छेवाङ भोटियाले भने। उनले पथसभालाई सम्बोधन गर्ने क्रममा पहाडमा गोजमुमो पार्टीले तानाशाही शासन चलाएको आरोप लगाउँदै त्यस तानाशाही शासनलाई समाप्त गर्नका निम्ति जनताको निम्ति चुनाव सही समय रहेको बताएका छन्। 
यता पथसभालाई सम्बोधन गर्दै पूर्व पार्षद के.एन सुब्बाले गोजमुमो पार्टीलाई भ्रष्टचारि दलहरूको झुण्ड रहेको बताउँदै जनताको विकासका निम्ति आएका पैसालाई मोर्चाका नेताहरूले दुरुप्रयोग गरेको आरोप लगाएका छन्। सरकारले जनताको विकासका कार्यका निम्ति पठाएको पैसालाई गोजमुमो नेताहरूले भ्रष्टचार गरेको कारण नै हिसाब माग्दा पहाड बन्द गर्ने गरेको आरोप समेत सुब्बाले लगाए। यसक्रममा पथसभालाई पूर्व कालेबुङ नगरपालिका अध्यक्ष सी.के. कुमाई, तृणमूल कङ्ग्रेस सहर कमिटिका अध्यक्ष ढेण्डुप भोटिया आदिले पनि सम्बोधन गरेका थिए।

0 Response to "तृणमूल कङ्ग्रेसले बजायो चुनावी विगुल ..... गणतन्त्रको स्थापना नै जनताको जित हो – छेवाङ भोटिया"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.