-->
औपचारिक घोषणा नगरी जापका 20 प्रार्थीहरूले सुटुक्कै भरे नामाङ्कन

औपचारिक घोषणा नगरी जापका 20 प्रार्थीहरूले सुटुक्कै भरे नामाङ्कन

डी.के. वाइबा,कालिमन्युज, कालेबुङ 22 अप्रेल।जन आन्दोलन पार्टीका प्रार्थीहरूले सुटुक्कै नामाङ्कन पत्र दर्ता गरेका छन्। कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा सम्पन्न हुने चुनावमा अन्य राजनैतिक दलका प्रार्थीहरूको नामाङ्कन पत्र दर्ता गर्ने क्रममा एउटा जुलुस नै निकालेर चुनावी हल्ला गर्ने गरेको अवस्थामा जन आन्दोलन पार्टीका प्रार्थीहरूले भने कुनै चुनावी हल्ला नगरी नामाङ्कन पत्र दर्ता गरेका छन्। यतिमात्रै नभएर नगरपालिका चुनाव लड्ने जन आन्दोलन पार्टीले नामाङ्कन पत्र दर्ता गर्ने क्रम चल्दा समेत औपचारिक रूपले प्रार्थीहरूको नाउँ समेत सार्वजनिक गरेन जसको कारण जन आन्दोलन पार्टीका प्रार्थीहरूलाई जनताले स्पष्ट चिन्न समेत सकेका छैनन्। 
पार्टीले प्रार्थीहरूको नाउँ औपचारिक रूपले घोषणा नगरेपनि पार्टीका केन्द्रिय समितिले ठप्पा हिर्काएका प्रार्थीहरूले भने नामाङ्कन पत्र दर्ता गरेका छन्। 23 वटा वार्डमध्ये 20 वटा वार्डहरूमा जाप प्रार्थीहरूले नामाङ्कन पत्र दर्ता गरिसकेका छन् भने अन्य तीनवटा वार्डहरूमा भने आगामी 24 अप्रेलका दिन नामाङ्कन पत्र दर्ता गर्ने भएका छन्। 
आजसम्म नामाङ्कन पत्र दर्ता गर्ने जन आन्दोलन पार्टीका प्रार्थीहरूमा क्रमैले पुनम तामङ (वार्ड न.1 ), प्रतिभा कुमाई (वार्ड न. 2), प्रदिप छेत्री (वार्ड न.3), जे.ओ.सी फिपन (वार्ड न. 4), पेमा भोटिया (वार्ड न. 5), रूपा सुनुवार (वार्ड न. 6), विलम तामङ (वार्ड न. 8), सुवास प्रधान (वार्ड न. 9), ढेन्डुप भुटिया (वार्ड न. 10), प्रभा लामा (वार्ड न. 11), निमेस लामा (वार्ड न. 13), सोनाम वाङ्दी तामङ (वार्ड न. 14), मैया राई (वार्ड न. 15), शर्मिला तामङ (वार्ड न. 16), डेमिएन लेप्चा (वार्ड न. 17), सुबानी तामङ (वार्ड न. 18), लक्ष्मी सुनुवार (वार्ड न. 19), निमसाङ भोटिया (वार्ड न.21), विमल चन्द्र प्रधान (वार्ड न. 22) अनि सञ्जय तामङ (वार्ड न. 23) ले नामाङ्कन पत्र दर्ता गरिसकेका छन् भने रहेका वार्ड नम्बर 7,12 अनि 20 का प्रार्थीहरूले भने आगामी 24 अप्रेलका दिन आफ्नो नामाङ्कन पत्र दर्ता गर्ने भएका छन्। 
अर्कोतर्फ नामाङ्कन पत्र दर्ता गर्ने छैटौँ दिन गोरामुमो पार्टीबाट तीनजा प्रार्थीहरू क्रमैले मणि सिलाल (वार्ड न. 4) प्रमोद बस्नेत (वार्ड न. 10), अनि मुन्ना बराईली (वार्ड न.19)ले पनि आफ्नो नामाङ्कन पत्र दर्ता गरेका छन्। सोहिक्रममा तृणमूल कङ्ग्रेस पार्टीका चारजना प्रार्थीहरू क्रमैले पवन सुन्दास (वार्ड न.1), कल्पना दर्नाल (वार्ड न.2), सोनाम भोटिया (वार्ड न.8), लजिका भुजेल (वार्ड न.18)ले पनि नामाङ्कन पत्र दर्ता गरेका छन्। 
सोहिक्रममा नामाङ्कन पत्र दर्ता गर्ने क्रममा स्वतन्त्र प्रार्थीहरूको सङ्ख्या पनि वृद्धि भएको छ। छैटौँ दिन स्वतन्त्र प्रार्थीहरूमा नामाङ्कन पत्र दर्ता गर्नेहरूमा वार्ड नम्बर एकबाट क्रमैले मुकेश शर्मा, पासाङ् भोटिया, शत्रुघन प्रसाद, वार्ड न. 4 वाट दिलिप राई, वार्ड न. 7 बाट चन्द्र छेत्री, वार्ड न. 10 बाट कमला राई अनि मणि कुमार योञ्जन, वार्ड न. 11 बाट फरिदा लेप्चा, वार्ड न. 12 बाट रवी सुनुवार, वार्ड न. 21 बाट रिञ्जी शेर्पाले स्वतन्त्र प्रार्थीका रूपमा नामाङ्कन पत्र दर्ता गरेका छन्। 
आगामी 14 अप्रेलका दिन कालेबुङ नगरपालिकाको 23 वटा वार्डमा सम्पन्न हुने नगरपालिका चुनावमा आजसम्म नामाङ्कन दर्ता गर्ने प्रार्थीहरूको सङ्ख्या भने 76 पुगेको छ भने नामाङ्कन पत्र दर्ता गर्ने अझ एक दिन बाँकी रहेको छ।

0 Response to "औपचारिक घोषणा नगरी जापका 20 प्रार्थीहरूले सुटुक्कै भरे नामाङ्कन "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.