-->
‘राजीनामा’को राजनीतिमा जापले उडायो गोजमुमोको खिल्ली..... सभासदको राजीनामा ‘नाटक’ बाहेक केहि होइन – विशाल राई

‘राजीनामा’को राजनीतिमा जापले उडायो गोजमुमोको खिल्ली..... सभासदको राजीनामा ‘नाटक’ बाहेक केहि होइन – विशाल राई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 11 मार्च। गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्ष एवम् सभासद प्रकाश गुरुङले जीटीएबाट राजीनामा दिएको घट्नालाई जन आन्दोलन पार्टीले खिल्ली उडाउँदै ‘यो केवल सत्ता बचाउने नाटक हो’ भनि टिप्पणी गरेको छ। 
रिम्बिक लोधोमा समष्टिबाट निर्वाचित सभासद प्रकाश गुरुङले जीटीएबाट राजीनामा दिएको खबर समाचार पत्रमा प्रकाशित भएपछि जाप युवा प्रकोष्ठले पत्रकार सम्मेलन डाकेर प्रतिक्रिया व्यक्त गर्दै गोजमुमो पार्टीको खिल्ली उडाएको छ। 
‘जब 2013 मा देशभरी तेलेङ्गना राज्य गठनको निम्ति बिल पेश भइरहेको थियो त्यसबेला गोजमुमो पार्टीले 44 दिन पहाड बन्द गरेर जनतालाई समस्यामा पार्ने कार्य मात्रै गरेर तर आफ्नो चौकि र सत्तालाई बचाँउने कार्य गरेको हो। आज ठिक त्यस्तै प्रकारले आफ्नो चौकि र सत्ता बचाउँन गोजमुमो पार्टीले नाटक गरिरहेको छ’ विशाल राईले भने। अहिलेघरी गोर्खा जनमुक्ति मोर्चाले उत्तर प्रदेश अनि उत्तर खण्डमा भारतीय जनता पार्टीको विजयीलाई अघि सारेर छुट्टै राज्य गोर्खाल्याण्डको कुरा गर्दै ‘दार्जीलिङ पहाड, तराई अनि डुवर्समा खस्कन लागेको अवस्था अथवा हावा जान लागेको चक्कामा टालटुल गर्ने काम मात्रै गरेको हो’ विशाल राईले अझ भने। 
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा पहाडका सम्पूर्ण जनताले पूर्णरूपले साथ दिएको अवस्थामा पनि गोजमुमो पार्टीले राज्य सरकार अघि घुँडा टेक्ने कार्य गरेको आरोप लगाएका छन्। उनले गोजमुमो पार्टीको ढाँटको राजनीति गरेको आरोप लगाउँदै ‘एघार गोर्खा जातिलाई जनजातिको मान्यता दिने कुरा कहाँ पुग्यो?’ भनि प्रश्न तेर्साए। 
गोजमुमोले बारम्बार जनतालाई ढाँटेको आरोप लगाउँदै रोशन गिरीको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले वितेको वर्ष किरण रिज्जिजुसँग भेट गरेर एघार गोर्खा जातिलाई जनजातिको मान्यता दिनका निम्ति बिल प्रधानमन्त्रीको टेबल छ भन्ने बयान दिएर ‘चौकि सत्ता र पैसाको निम्ति जनतालाई बारम्बार धोखा दिने कार्य गर्दैछ’ भनि आरोप लगाए। यसकारण गोजमुमो पार्टीका नेता तथा सभासद प्रकाश गुरुङको राजीनामा केवल झुटको राजनीति गरेर जनताको आँखामा धुलो हाल्ने कार्य मात्र हो भनि आरोप लगाए। 
‘गोजमुमो पार्टीले बारम्बार नाटक मात्रै गर्दै आएको छ’ यो अर्को नाटक हो। जनता सचेत बन्नुपर्छ’ विशाल राईले भने। सोहिक्रममा उनले विगतमा गोजमुमो अध्यक्ष विमल गुरुङले पहाडका विधायकहरूलाई विधानसभाको चुनाव सम्पन्न हुन छ महिना अघि राजीनामा दिन लगाएको जस्तै जीटीएको चुनाव सम्पन्न हुन लगभग तीन महिना अघि सभासदले राजीनामा दिनु ‘पारी स्याल कराउनु र वारी बाख्रा हराउनु’ एउटै हो भनि टिप्पणी गरे। 
‘गोर्खाल्याण्डको निम्ति सरकारलाई दवाउ दिनु हो भने सभासदले होइन विधायक र सांसदले राजीनामा दिनुपर्छ। जीटीएको मियाद समाप्त हुन तीन महिना अघि राजीनामा दिनु भनेको ढाँटको राजनीति बाहेक केहि होइन’ विशाल राईले कडा आलोचना गर्दै भने।

0 Response to "‘राजीनामा’को राजनीतिमा जापले उडायो गोजमुमोको खिल्ली..... सभासदको राजीनामा ‘नाटक’ बाहेक केहि होइन – विशाल राई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.