-->
कालेबुङ जिल्लाको पहिलो भ्रमणमा जीटीए प्रमुख ......   कालेबुङ जिल्ला मृतकको प्रमाण पत्र र राशन कार्ड वितरण गर्ने मात्र नहोस्- विमल गुरुङ

कालेबुङ जिल्लाको पहिलो भ्रमणमा जीटीए प्रमुख ...... कालेबुङ जिल्ला मृतकको प्रमाण पत्र र राशन कार्ड वितरण गर्ने मात्र नहोस्- विमल गुरुङ






































डी के वाइबा, कालिमन्युज, कालेबुङ, 28 फरवरी। ‘कालेबुङ जिल्ला मृतकको प्रमाण पत्र प्रदान गर्ने र राशन कार्ड वितरण गर्ने मात्र नहोस्। यो जिल्ला दार्जीलिङ जिल्ला भन्दा पनि राम्रो बन्न सकोस्। यहाँका जनताले भविष्यमा दार्जीलिङ र सिलगडी गएर कार्य गर्न पर्ने हुनुहुँदैन’ – उक्त कुरा कालेबुङ जिल्लाको पहिलो भ्रमणमा आइपुगेका जीटीए प्रमुख एवम् गोजमुमो अध्यक्ष विमल गुरुङले भनेका हुन्। 
कालेबुङ जिल्ला गठन पछि पहिलोपल्ट भ्रमणमा आइपुगेका गोजमुमो अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङलाई गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरूले भव्यताको साथमा स्वागत जनाएका थिए। कालेबुङ जिल्लाको पहिलो भ्रमणमा आएका गुरुङलाई मोर्चा कार्यकर्ताहरूले राष्ट्रिय राजमार्ग टिस्टा देखि नै भव्यताको साथमा स्वागत गर्दै बाइक र्‍यालीको साथ कालेबुङ शहर परिक्रमा गराएका थिए। यस अवसरमा मोर्चा कार्यकर्ताहरूले छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा जोड्दार नाराबाजी समेत लगाएका थिए। 
आफ्ना समर्थकहरूको लामेताँत बाइकको र्‍याली पछि पछि हिँडेका विमल गुरुङको अनुहारमा निकै खुशीयाली देखिएको थियो। कालेबुङ जिल्लाको पहिलो भ्रमणमा वाहनमा सवार रहेर नै गुरुङले शहर परिक्रमा गरिसकेपछि उनी सोझै पार्टी कार्यलयमा पुगेका थिए। कालेबुङ जिल्लाको भ्रमणमा आइपुगेका गोजमुमो अध्यक्ष विमल गुरुङ आगामी 4 मार्चका दिन दार्जीलिङ फर्कने भएका छन् भने दार्जीलिङमा एउटा सरकारी कार्यक्रममा भाग लिएपछि उनी पुन: कालेबुङमा नै आएर आउँदो नगरपालिका चुनावसम्म बस्ने भएका छन्। 
यसक्रममा गुरुङले कालेबुङ नगरपालिका क्षेत्रमा पार्टीलाई बलियो बनाउँन जनसम्पर्क अभियान समेत गर्ने भएका छन्। यता उनले पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ जिल्ला गठनको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद पनि दिएका छन्। उनले कालेबुङ जिल्ला गठनलाई लिएर प्रशासनिक सुविधा भन्दा राजनीतिकरण गर्ने कार्य भइरहेको पनि आरोप लगाए। ‘जिल्ला प्रशासनिक सुविधाको निम्ति हो। यसले जनतालाई सुविधा दिनुपर्छ। यहाँ जिल्ला बनिएको हल्ला गरेर राजनीति धेर हुँदैछ’ विमल गुरुङले भने। 
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा कालेबुङ जिल्लाको भ्रमणमा आउँदा बङ्गाल सरकारलाई धेरै चासो बढेको दाबी गर्दै ‘कालेबुङका जनता बोर्ड प्रेमी होइनन् गोर्खाल्याण्ड प्रेमी हुन्। आज कतिपय मनिसहरू नेतृत्वसँग मन दुखाएर यता उता गए होलान् तर जातिको अस्तित्व र गोर्खाल्याण्डको निम्ति निश्चित रूपले आघि आउँनेछन् भन्ने विश्वास छ’ गुरुङले अझ भने। 
यसक्रममा हालमा कालेबुङ जिल्ला गठनपछि गोजमुमो पार्टी त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भइरहेको घट्नाबारे प्रश्न गर्दा उनले मन दुखाएर पार्टी त्याग्नेहरूलाई पुन: पार्टीमा फर्काएर ल्याउने कार्य गर्ने पनि उनले बताए। हालमा चलिरहेको राजनैतिक पार्टी परिवर्तन गर्ने क्रममा गोर्खा जनमुक्ति मोर्चालाई भन्दा जन आन्दोलन पार्टीलाई धेर प्रभाव परेको विमल गुरुङले दाबी गरेका छन्। 
'अहिलेघरी तृणमूल कङ्ग्रेसमा सामेल भएको घट्नाले जन आन्दोलन पार्टीको धरातल नै धस्काउने कार्य गरेको छ। हामीलाई कुनै डर छैन। यदि प्रमाण चाहिए आजनै नगरपालिका चुनाव गरे त्यसको परिणामले थाह लाग्नेछ’ गुरुङले अझ भने। 
उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सबै एक हुनपर्ने आह्वान गर्दै जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीलाई पनि अघि आइदिने आह्वान गरेका छन्। यद्यपी यसबारे औपचारिक पत्राचार गर्नुहुनेछ भनि प्रश्न गर्दा उनले ‘गोर्खाल्याण्डको निम्ति पत्राचार होइन स्वेच्छाले अघि आउनुपर्छ’ भने।

0 Response to "कालेबुङ जिल्लाको पहिलो भ्रमणमा जीटीए प्रमुख ...... कालेबुङ जिल्ला मृतकको प्रमाण पत्र र राशन कार्ड वितरण गर्ने मात्र नहोस्- विमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.