-->
‘आफ्नो गाउँ आफै सफा गरौँ’ भन्ने सन्देश दिँदै कालेबुङ किड्सका नानीहरू

‘आफ्नो गाउँ आफै सफा गरौँ’ भन्ने सन्देश दिँदै कालेबुङ किड्सका नानीहरू

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 5 जनवरी 2017 । कालेबुङ किड्सका स-साना नानीहरूले ‘आफ्नो गाउँ आफै सफा गरौँ’-को सन्देश दिँदै गाउँ सफाई अभियान चलाएर उदाहरणीय कार्य गरेका छन्। कालेबुङ शहरको मैला व्यवस्थापनलाई लिएर नगर प्रशासन विफल बनिरहेको अवस्थामा ‘कालेबुङ किड्सका’ नानीहरूले चलाएको सफाई अभियानले नगर प्रशासन अनि सभ्य भनौदा नागरिक समाजलाई समेत गतिलो पाठ पढाएका छन्।
एकातिर कालेबुङ शहरमा मैला व्यवस्थापनको झमेलाले गर्दा नगरपालिकाले शहरको मैला डम्पिङ ग्राउण्डमा फ्याँक्न सकेको छैन भने अर्कोतर्फ मानिसहरूलाई मैला व्यवस्थापन आफैले गर्न सकिने सन्देश दिँदै स-साना नानीहरूको संस्था ‘कालेबुङ किड्स’ले झोडा-नाला सफा गरेर स्वच्छ भारत अभियानको उदाहरण प्रस्तुत गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत अभियानको घोषणा गरे पनि आजसम्म स्वच्छ भारत निर्माणको कार्यलाई मानिसहरूले वास्ता नै गरेका छैनन्। जसको कारण गाउँ, शहरको गल्ली-गल्ली र झोडाहरूमा मैलाको थुप्रो थुप्रिरहेको दृष्य प्रशस्तै देख्न सकिन्छ। यस्तो अवस्थामा होम्स इलाकाको शेर्पा गाँउको स-साना नानीहरूले आफ्नो गाउँ आफै सफा गरौँको सन्देश दिँदै आज झोडा नालामा अव्यवस्थित तरिकाले फ्याँकेका मैलाहरू सफाई गरेर उदाहरणीय कार्यको थालनी गरेका छन्।
कालेबुङ किड्सका नानीहरूले थालेको सफाई अभियानलाई साथ दिनका निम्ति आज विशेषरूपले अमेरीका स्थित फ्रेमिङ्गहाम स्टेट युनिभर्सिटी, म्यासाचुसेट्सका विद्यार्थीवर्गले पनि साथ दिएका थिए। प्रोफेसर लिजा एक-को नेतृत्वमा कालेबुङ आइपुगेका स्नातक तहका विद्यार्थीवर्गले कालेबुङ किड्सका नानीहरूसित मिलेर झोडा नालामा फ्याँकेका मैलाहरू सफा गर्दा निकै उत्साहित रहेका देखिन्थे। मानिसहरूले आफ्ना घरका मैलाहरू सजिलोसँगै झोडामा फ्याँकेको कारण क्षेत्रको परिवेश प्रदुषित बनिरहेको महशुस गरेर कालेबुङ किड्सका नानीहरूले यसरी सफाई अभियान कार्यको आरम्भ गरेर भाषण र नाराहरूमा मात्र स्वच्छ भारत अभियानको नारा फलाक्नेहरूलाई समेत गतिलो जवाब दिएका छन्। उनीहरूले झोडा नालाको सफाई अभियान सँगै गाउँका मानिसहरूलाई जथाभावी मैला नफ्याँक्ने आह्वान गर्दै ठाउँ-ठाउँमा टिनको डस्टबिन समेत राखेका छन्।
यसक्रममा कालेबुङ किड्सका सचिव सातौ श्रेणीको विध्यार्थी जेनस लेप्चाले कालेबुङ किड्सको मुख्य उद्देश्य नै आफ्नो गाउँलाई सफा राख्ने रहेको बताएका छन्। ‘हाम्रो गाउँ मैला भयो। मानिसहरूले प्रयोग गरेका प्लास्टिक, बोतल लगायत अन्य मैलाहरू अव्यवस्थित तरिकाले जताभावी फ्याँक्ने गर्छन्। जसको कारण वातावरण नै प्रदुषित बनेको छ। त्यसैलाई ध्यानमा राखेर हामीले कालेबुङ किड्स संस्था बनाएर गाउँ सफाई अभियान चलाएका हौँ’ जेनस लेप्चाले भने। उनीहरुले आजको अभियानमा जल्ने कागज र लुगाहरु जलाए भने नजल्ने अनि जलाउन नहुने प्लास्टिक ग्लासका फ्याकिएका सामानहरु संग्रह गरेर रिसाइकल गर्न राखेका छन। आगामी दिनमा रिसाइकल गरिने तालिम र काम पनि हुने जानकारी प्राप्त भएको छ।
यता अमेरिकाबाट ‘कालेबुङ किड्स’ का नानीहरूसँग सहभागी बन्न आइपुगेका प्रोफेसर लिजाले नानीहरूले चलाएको सफाई अभियानमा आफुहरू सहभागी हुन पाउँदा हर्ष लागेको बताउँदै आगामी दिनमा नानीहरूलाई मैला व्यवस्थापनको उचित जानकारी र ज्ञान प्रदान गर्न आफुहरूको अर्को दल पुन: कालेबुङ आउने जानकारी दिएका छन्।
‘कालेबुङ किड्सका नानीहरूले गाउँ सफाई गर्ने जानकारी हामीले पाएपछि उनीहरूको कार्यलाई प्रोत्साहन दिन हामी यहाँ आएका हौँ। आफ्नो गाउँ सफाई गर्ने नानीहरूको प्रयास सराहनीय रहेको छ। हामी उनीहरूको कार्यलाई सम्मान गर्छौँ अनि भविष्यमा पनि सफाई अभियान र मैला व्यवस्थापनको कार्य सिकाउन हामी तत्पर रहनेछौँ’ प्रोफेसर लिजाले भनिन्। यी नानीहरुलाई प्रोत्साहन दिन यी कालेबुङ् किड्सका नानीहरुको घरमै प्रोफेसर लिजा अनि उनका विध्यार्थीहरु बाडिएर् गत चारदिनदेखि बसेर होम स्टेलाई पनि प्रोत्साहित गरेका छन।

0 Response to "‘आफ्नो गाउँ आफै सफा गरौँ’ भन्ने सन्देश दिँदै कालेबुङ किड्सका नानीहरू"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.