-->
गुणस्तरीय शिक्षाको पोल खोल्दै सामदोङ प्राथमिक पाठशाला ......खुल्ला आकासमुनि शिक्षा लिँदै विद्यार्थीवर्ग

गुणस्तरीय शिक्षाको पोल खोल्दै सामदोङ प्राथमिक पाठशाला ......खुल्ला आकासमुनि शिक्षा लिँदै विद्यार्थीवर्ग

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 12 जनवरी। हावा हुण्डरीले विद्यालयको छाना उडाएपछि विद्यार्थीवर्गले अहिलेघरी खुला आकासमुनी नै शिक्षा लिइरहेका छन्। 9 महिना अघि विद्यालयको छाना हुण्डरीले उडाएपछि विभागीय मौनताको कारण विद्यार्थीवर्ग खुल्ला आकासमुनी नै शिक्षा लिन वाध्य भएका हुन्। उक्त घट्ना कालेबुङ शहरदेखि लगभग 25 किलोमिटर टाडामा अवस्थित कास्योम, साम्दोङ बस्ती स्थित सामदोङ प्राथमिक पाठशालाको हो। 
पाठशाला भवनको छाना हावा हुण्डरीले उडाएको 9 महिना बितिसक्दा पनि अझसम्म सान्तवनाबाहेक सामदोङ प्राथमिक पाठशालाले केहि पाउन सकेको छैन। पाँच वटा कोठा रहेको उक्त पाठशालाको तीनवटा कोठामाथिको छाना हावाले उडाएर लगेपछि अहिलेसम्म 2 वटा स-सानो कोठालाई बारेर चारवटा बनाएर पाठशाला सञ्चालन गर्नुपर्ने बाध्यता पाठशाला कतृपक्षले विगत 9 महिनादेखि भोग्न परिरहेको छ। विद्यालयको छाना विगत 23 अप्रेल 2016 को दिन बेलुकीपख आएको हावा हुण्डरीले क्षतिग्रस्त बनाएको हो। हुण्डरीले छाना उडाएपछि विद्यालय कर्तृपक्षले आश्वासनका पोका बाहेक केहि पाएका छैनन्।
पाठशालामा अहिले पनि लगभग पचासजना विद्यार्थीहरू शिक्षार्जन गरिरहेका छन्। उनीहरूको निम्ति मध्याह्न भोजन बनाउने घर पक्का रूपमा निर्माण गरिएको छ अनि शौचालय दुइ-दुइवटा पक्का रूपमा निर्माण गरिएको छ। यद्यपि शिक्षार्जन गर्ने तीनवटा कक्षा भने छाना बिहिन कुनै पनि समय दुर्घटना हुनसक्ने अवस्था बोकेर बसिरहेको छ। एउटा कक्षाको छाना अनि सिलिङ झरेर आकाश देख्ने अवस्थामा पुगेको छ भने एउटा कक्षाको सिलिङ आधा झरिसकेको अवस्थामा अल्झिएर बसेको छ। कुनै पनि समय झर्न सक्ने उक्त सिलिङ 9 महिनादेखि सोझिने आश्वासन पर्खेर बसेको छ भने आश्वासन अहिले पनि पाठशालाको छाना जस्तो उदाङ्गो अनि रित्तो छ। क्षेत्रका नानीहरूको निम्ति शिक्षार्जनको शुरूवात गर्ने उक्त प्राथमिक पाठशाला अहिले आफै कहिलेदेखि पुनर्निर्माण हुने हो पर्खेर बसेको 9 महिना बितिसकेको छ।
समस्याई लिएर पाठशाला पक्षले शिक्षा विभाग, जीटीए, सभासद, पञ्चायत, प्रशासनलाई अवगत गराउने अनि सहयोगको निम्ति अपील गर्ने कार्य हावा हुण्डरीले छाना उडाएको भोलिपल्टदेखि नै गरेको भए पनि कार्यरूपमा केही नभएको प्रमाण भत्किएकै अवस्थामा रहेको आधा पाटो छानाले दिइरहेको छ। विभागीय अधिकारीहरूदेखि लिएर सभासद, अभियन्ता आदिले स्थलगत निरीक्षण गरेर गए पनि कार्यरूपमा भने अझसम्म केहि लिएर नआएको पाठशालाका प्रधान अध्यापक प्रेमछिरीङ तामलोङ बताउँछन्। ‘हुण्डरीले छाना उडाएपछि हामीले पञ्चायत, शिक्षा विभाग अनि सम्बन्धित निकायहरूलाई जानकारी दियौँ। जाँच गर्न विभागबाट मानिसहरू पनि आए। अभियन्ताहरू पनि आएर जाँच गरी गए। तर खै आजसम्म उडेको छाना कसैले टालेका छैनन्’ विद्यालयका प्रधान अध्यापक प्रेमछिरिङले भने। उनले आजसम्म विद्यालयको छाना सम्बन्धित निकायले बनाउने कार्य नगरेको दु:ख समेत व्यक्त गरे।
तीनजना शिक्षक लगायत 50 भन्दा अधिक विद्यार्थीहरू रहेको यस पाठशालामा रेसी खोला छेउसम्मका विद्यार्थीहरूसमेत शिक्षार्जन गर्न दिनँहु धाउने गर्छन्। तर आश्वासन दिएर गएका अधिकारी अनि नेताहरूले भने आश्वासनसँगै उक्त पाठशालाको समस्या समाधान गर्न सो बाटो आउन बिर्सेको 9 महिना बितिसकेको छ। क्षेत्रका मानिसहरू साथै उनीहरूका नानीहरूको निम्ति शिक्षार्जन गर्न महत्त्वपूर्ण रहेको उक्त पाठशालाको यति दयनीय अवस्था पुगिसक्दा पनि सम्बन्धित विभाग, अधिकारी अनि नेतृत्वहरूले भने यसलाई अझसम्म महत्त्व दिएका छैनन्। सोही कारण अझ पनि पाठशाला बेहाल अवस्था लिएर उँभिरहेको छ। पाठशालाको अवस्थाले गर्दा धेरै नै असुविधा भइरहेको कुरा उल्लेख गर्दै यथाशीघ्र पाठशाला भवनको पुनर्निर्माण हुनुपर्ने कुरामा पाठशाला सञ्चालन समितिका सभापति सिन्तारोन तामलोङले जोड दिएका छन्। 
‘हुण्डरीले छाना लग्यो अनि नानीहरू खुल्ला आकासमुनी विद्यार्जन गर्न बाध्य छन्। गाउँका नानीहरूलाई विभागले पनि सायद हेर्दैनन् होला जस्तो लाग्न थालेको छ’ सञ्चालन समितिका सिन्तारोन तामलोङले भने।
पाठशाला जहाँ दिनहुँ अध्ययन अनि अध्यापन हुने गर्छ। जसको छाना उडाएको 9 महिना बितिसक्दा पनि लगाउने कार्य नहुनु साँच्चै नै शिक्षामाथिको विभागीय हेलचेक्राइँ हो भन्ने स्पष्ट देखापर्छ। प्राथमिक पाठशाला जसलाई शिक्षाको पहिलो धरातल पनि भनिने गरिन्छ भने उक्त धरातलको यस्तो अवस्था हुँदा पनि 9 महिनासम्म केही पहल नहुनु साँच्चैमा शिक्षा नीतिको कहालीलाग्दो यथार्थ झल्किन्छ। 
आर्थिक रूपले विपन्न नानीहरूले शिक्षार्जन गर्ने प्राथमिक पाठशालाहरूको यस्तो दुर्दशा कहिले समाप्त हुने? आधा छाना नै नभएको पाठशालामा त्रास बोकेर कहिलेसम्म नानीहरूले शिक्षार्जन गर्नुपर्ने? आधुनिक शिक्षाको योजना बताउने विभागले यस्ता छाना बिहीन पाठशालाहरूमा छाना लगाउने योजना बनाउन किन अझसम्म सकेन? विद्यार्थीहरूलाई भविष्य अनि क्षेत्रको गतिलो खाँबो बताउने नेतृवर्गले यस्ता दुर्दसा लिएर बसेका विद्यालयको खाँबो अनि छानाबनाउने जिम्मेवारी यत्तिका समयसम्म पनि किन बहन गरेन? सोच्न पर्ने मात्र होइन नयाँ सत्र शुरू हुनअघि कार्यरूपमा जवाबी कार्य पनि गरेर देखाउनु पर्ने आवश्यक्ता छ। 
आधुनिक शिक्षा, शैक्षिक प्रतिस्पर्द्धा, विद्यार्थीहरूलाई भावी पिढी सम्हाल्ने खाँबो बताउने विभाग, अधिकारी अनि नेतृत्वहरूले भाषण अनि कागजी योजनामा मात्रै होइन यस्ता पाठशाला अनि पाठशालाका विद्यार्थीहरूलाई भेटेर छाना लगाइदिने कार्य पनि गर्न सक्नुपर्छ। नत्र कागजी योजना, भाषण अनि कार्यरूप मात्र कतिसम्म सामञ्जस्यता छ त्यो सामदोङ प्राथमिक पाठशालाको छाना जस्तै खुल्ला अनि स्पष्ट रूपमा देखिनेछ।


0 Response to "गुणस्तरीय शिक्षाको पोल खोल्दै सामदोङ प्राथमिक पाठशाला ......खुल्ला आकासमुनि शिक्षा लिँदै विद्यार्थीवर्ग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.