ON SALE




ON SALE
19 decimal private land with a House
at Sabitri Ghising Road, Bong Busty Kalimpong.
Single storied house has 3 Bedrooms,
Living room, Kitchen & Dining room,
3 Bathroom-cum-toilets
Contact: thulungakrai@gmail.com
or 9434131719


30 Dec 2016

चिनियाँ, चीन र चा

महेन्द्र पी. लामा अन्नपूर्ण, मंसिर १०, २०७३: लगभग १४० करोड जनसंख्या भएको चीनको परिचर्चा विश्वभरि नै हुन्छ, एउटा सामरिक शक्ति, आर्थिक महाशक्ति, व्यापारको गुँड र विश्व बजार पिट्ने राष्ट्रको नाममा । अमेरिकापछि लगत्तै चीन आउँछ र सन् २०३० सम्म अमेरिकालाई पनि उछिन्दैछ ।
सन् १९६० र सन् १९७० को दसकमा चेयरम्यान माओले गरेको ‘सांस्कृतिक क्रान्ति' ले यो देशमा यति भयानक उथलपुथल ल्यायो, लगभग १० लाख मानिस मारिए भनिन्छ । त्यहाँ मानव अधिकारको नामोनिशान रहेन ।
संस्था, धर्मस्थल सबै भत्काइए । चेयरम्यान माओको निधन भएपछि, देङ स्याओ पिङले राष्ट्र सम्हाले । सन् १९७५ यता चीनले पछि फर्केर कहिल्यै हेरेन । यति द्रूत गतिमा अघि बढ्यो कि विश्व समुदाय नै चकित पर्‍यो ।
म पनि पटकपटक चीन गएँ । दक्षिण-पश्चिमतिरका युनान-कुनमिङ, तिब्बत-ल्हासा, सिचुआन-चेङ्दु आदि राज्यका साथसाथै पूर्वोत्तरका सासी उतायसान, तायुअन, बेइजिङ र दक्षिणी समुद्रतटका संघाई, कुजियान, गुआगडोङ र तियानजिन क्षेत्रको मज्जैले भ्रमण गर्न पाएँ । कस्तो राष्ट्र ? कम्युनिस्ट भन्छ- दक्षिण एसियाको देवीदेवता सबै यही बनाइन्छ, गुआङझाओमा । समाजवादी राष्ट्र भन्छ- केवल बजारै बजार छ र मानिसहरू केवल किनबेच गर्न मन पराउँछन् ।
स्कुलमा छँदा हु येन साङ र फा हियेन दुई धार्मिक बुद्धिजीवीले भारत-दक्षिण एसिया भ्रमण गरेको वर्णन पढेका थियौं । कलेजमा चिनी दार्शनिकहरू लाओसे र कन्फ्युसियसबारे पढ्यौं । विश्वविद्यालयमा पुग्दा माओत्से तुङ र चाउ एन लाईले कस्ता राजनीति गर्थे र कसरी राष्ट्र चलाउँथे भन्ने राजनीतिक विश्लेषण गर्‍यौं ।
अहिले चिनियाँ राष्ट्रपति सी जिनपिङ छन् । उनले भ्रष्टाचार स्वाहा पार्ने उपाय अगाडि ल्याएका छन् । जिनपिङले विश्वलाई नै अँगाल्ने र नियन्त्रण गर्ने कार्यक्रमअन्तर्गत नै पौराणिक रेशम (सिल्क) मार्गलाई फेरि नयाँ रूप दिई एसिया, युरोप र अफ्रिकासमेतलाई बाँध्ने ‘एउटा दिशा एउटा मार्ग' (वान वेल्ट वान रोड) कार्यक्रम अघि ल्याए ।
आज सिंगो विश्व नै चीन र चिनियाँको निमित्त सबैभन्दा प्रमुख चर्चाको विषय भएको छ । यसअन्तर्गत बाटोघाटो, व्यापार, वाणिज्य, संस्कृति, समाज, शिक्षा, स्वास्थ्य, पर्यावरण, प्रौद्योगिकी आदि सबैलाई एकत्रित ढंगमा चीनले एसिया, युरोप र अफ्रिकाका राष्ट्रहरूसँग मिली विकास कार्यक्रम गर्ने रे ! भारत यो कार्यक्रम मान्न तयार छैन । तर यसै कार्यक्रमलाई साकार रूप दिन चीनले एउटा नयाँ बैंक एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक बनायो, जसमा भारतको सहभागिता उच्चस्तरीय छ र भूमिका गहन पनि ।
चीनले दुवै शक्ति कडा र नरमलाई अति नै सुचारु ढंगमा प्रयोगमा ल्याएको छ । एकापट्टि सामारिक दृष्टिकोणमा आफूलाई अझै बलियो बनाउँदै र एउटा विशेष परमाणु शक्ति भएर आफ्नो कडा शक्ति (हार्ड पावर) को प्रदर्शन जानीबुझी गर्छ ।
अर्कोतिर चिनियाँ संस्कृति, खानपिन, दर्शन र धर्म आदिलाई नरम शक्ति (सफ्ट पावर) को रूपमा विश्वभरि फैलाउँदै छ । कुन राष्ट्रमा ‘चाइना टाउन' र ‘चिनियाँ खानेकुरो' पुगेको छैन ? जापान, अमेरिका, युरोप, अफ्रिका, एसिया सबै क्षेत्र चिनियाँ खानेकुरोमा डुब्यो । बजारभरि ‘मेड इन चाइना' मात्रै लेखिएका चिनियाँ सरसामान भएका कारणले सबैलाई किन्न कर नै लाग्दो रहेछ ।
चिनियाँले पहिले गर्छ रे त्यसपछि सोच्छ रे । र नै चीनमा चाँडोभन्दा चाँडो बन्छन् बाटोघाटो, पुल, घर, व्यापार केन्द्र सार्वजनिक सुविधा आदि । हामी दक्षिण एसियामा सोच्छौं, सोच्छौं र कहिलेकहीँ मात्रै गर्छौं रे । र नै एउटा मार्ग बनाउन वर्षौं लाग्छ ।
पहिले तोकिएको खर्च बढेर तीन चार गुणा हुन्छ र पनि मार्ग खोलिँदैन । धेरैले भन्छन्- चीनमा प्रजातन्त्र नभएकाले नीति बनाउन र निर्णय दिन सहज छ । यसमाथि बहस गरिनुपर्ने हो । बाजेको समयमा थालेको बाटो नातिले पनि देख्नु नपाउनु प्रजातन्त्रकै योगदान भनेर आफ्नै चित्त बुझाउने हो कि ?
चीनको द्रूत विकासले विश्वलाई नै फाइदा पुगेको छ । घरघरमा विशेष सुविधा पुगेको छ । तर चीनले विकासका नराम्रा असरहरू पनि भोग्नु परिरहेको छ । चीनले विश्वभरिकै प्राकृतिक संसाधन र खनिज पदार्थहरू, फलाम, तेल, ग्यास, कोइला आदिलाई आफ्नो नियन्त्रणमा लिएर आफ्नो कारखाना र कम्पनीहरू बनाएको छ । बर्मादेखि इथियोपिया, किर्गिस्तानदेखि ब्राजिलसम्मै चीनका कम्पनीहरू पुगेका छन् । त्यहाँ बाटो, बन्दरगाह, पुल, स्कुल, अस्पताल पनि बनाइदिएको छ चीनले तर प्राकृतिक संसाधन पनि पूरै चलाएको छ ।
चिनी सरसामान अति सस्तो छ । अर्कोतिर चीनमा श्रमिकहरूको वेतन अति नै कम भएकाले र श्रमिकहरूको अधिकारको लागि लड्ने ट्रेड युनियन नभएकाले श्रमिकहरूका श्रमिकहरूका श्रमदान प्रशस्तै मात्रामा चिनियाँ कम्पनीहरूले पाए । विश्वले यसरी सस्तो चिनियाँ सरसामान घरमै पाए । तर चीन अर्कोतिर प्रदूषणको सिकार बनेको छ । विश्व बैंकको रिपोर्टअनुसार विश्वका अति प्रदूषित दसवटा नगरहरूमा ६ वटा चीनमा पाइयो । प्रदूषणले नदीहरू नै सुके ।
अब चीनले कसरी पानी भएको तिब्बत युनान क्षेत्रबाट हजारौं किलोमिटरको कुलोमा पाइप बिछ्याई नगरहरूमा पानी पुर्‍याउने भन्ने कार्यक्रम तयार पार्दैछ । चिनियाँहरू व्यापार वाणिज्यका कारण कति मातिए भने धेरै व्यापारी कसरी ठग्न सकिन्छ भन्ने अति नै आघातपूर्ण उपाय अघि ल्याउन थाले ।
नानीहरूले पिउने पाउडर दूधमा इनामेल हाले । अन्डाभरि रासायनिक पदार्थ हाली कृत्रिम र जाली बनाउन थाले । चीनमा अहिलेसम्म पनि यी सबै कुरा नियमित गर्ने कानुन र संस्थाहरू भनेजस्तो छैन । विश्व कम्पनीहरूको सबैभन्दा ठूलो गुनासो नै यही छ ।
अर्कोतिर त्यहाँ फेसबुक, जीमेल र धेरै जनप्रिय विषयमा सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले सीधै भन्छ, सबै कुरो गर तर राजनीति नगर । विरोध गर्नेहरूले देश नै छोडेर भाग्नुपर्छ । तर चीन फेरि अनुशासित राष्ट्र पनि हो । सफा छ । कार्यालयमा बाबुहरू समयमा आउँछन्, बैंक स्कुल विश्वविद्यालय सब ठीक चल्छन् । अर्थात् जनसाधारणले जनसुविधा नसोधी र नलडी पाउँछन् ।
चिया (चा) लिएर एकपटक दार्जिलिङ, नेपाल, सिक्किम र विश्वका कुनाकुना पसेका चिनियाँहरू आज चिया लगेको मार्गबाटै विश्व अँगाले । आजको चीनमा केको चिया पाइँदैन र ? कालो, हरियो, गुलाबको फूलको, जंगली झ्याउको, रुखका बोक्राको, समुद्री लेउको, यार्सागुम्पाको र पातपतिंगरको ।
सबै चियाको स्वाद लिनै महिनौं लाग्छ यहाँ । यहाँको ‘मिल्क टी' अचम्मैको हुन्छ । तीन फिट माथिबाट चिया र दूध खसालेर चिया बनाइन्छ र घरीघरी फिटिन्छ । ‘मिल्क टी' पिउनेहरूको लाइन लाग्छ, जहीँतहीँ । चिनियाँ नै हुन् ‘टि हर्स रुट' (चिया-घोडा-मार्ग) बनाउने । युनान-तिब्बत-नथुला-कालिम्पोङ-कलकत्ता सबैलाई जोडेको थियो चिनियाँ चिया र चिया बोक्ने गधा-घोडाले एकपटक ।
चीनमा जहाँ गए पनि महिलाको भीड देखिन्छ । उनीहरू व्यापार गर्छन्, कल-कारखानामा काम गर्छन् र गाडी चलाउँछन् । सरकारले नै एउटा नानीभन्दा बढ्दा जन्माउन नदिएपछि त्यहाँ नानीहरूको पालनपोषण मात्रै राम्रो नभएर महिलाको स्वास्थ्य पनि राम्रो हुने नै भयो ।
छोरी-चेलीलाई भ्रूण हत्या गरी जन्मनै नदिने, दाइजो नल्याउँदा छोरी-बुहारी जलाउने हाम्रो समाजमा फैलिएको कुप्रथा सुन्दा त चिनियाँहरू अवाक बन्छन् र चुकचुक गर्छन् । चिनियाँहरू के खाँदैनन् ? मासु, चरा, कीरा फट्यांग्रा, सर्प-भ्यागुता, ककरोच-लेउ सबै खान्छन् ।
सबैले आआफ्नै प्रकारले । सिचुआनमा टिम्बुरले मसलाको काम गर्छ, जिजियाङमा लसुनले र बेइजिङमा मौरीको महले मसलाको काम गर्छ । अति नै स्वादिलो खानेकुरा हुन्छन् ।
महमा डुबाएर धिमा आगोको रापले पकाएको हाँसको मासु मुखमै बिलाउँछ- बेइजिङ र तियानजेनका रेस्टुराँहरूमा । माथि उतायसान पर्वत क्षेत्रमा फेरि माटोले बनाइएका घरमा बस्ने परिवारले खोर्सानी र कुखुराको मासु अघि राखिदिँदा मलाई त दार्जिलिङको सेब्जे सिटोङ बस्तीमा ठण्डा महिनामा ज्वानोमा भिजेको कुखुराको झोल खाएजस्तै लाग्यो ।
चीनको भयानक र ध्वंसपूर्ण ‘सांस्कृतिक क्रान्ति' को समयमा पनि उतायसान पर्वतका मन्दिर, गुम्बाहरू चोखै बसे । यी धर्मस्थलहरूमा पनि लद्दाख, नेपाल सिक्किम-अरुणाचल-दार्जिलिङकै सुवासना छरिएको छ । सुँगुरको मासु खानु हो भने चीनको क्यानटोन जानुपर्छ । कस्ता-कस्ता प्रकारका पाइन्छन् । बजारका गल्लीमा सुँगुरको थुतुनादेखि पुच्छरसम्मै अलग-अलग ढंगमा मासु सजाइएको हुन्छ । के टिप्ने ? जिब्रो कि, खुट्टा कि, आन्द्राभुँडी कि, छात्ती कि, कान ? टिपेपछि कुन मसाला ? अनि पाकेपछि कसरी खाने ?
गिलो भातसँग कि बोकचोइको सागसँग कि, सिलेरीको डन्डीसँग कि वा चिनियाँ रोटीसँग । घन्टौं बसेर खाँदा पनि पेटमा कुतकुती लागिरहन्छ । पकाउनेको अनुहार र सीप देखेरै सुँगुरको मासुले भुँडीमा भुतभुती खेलिरहन्छ । वास्तवमा चीनमा शाकाहारीको लागि गाह्रै पर्छ, चोखो निरामिश भोजन पाउन ।
त्यहाँको प्रसिद्ध शाकाहारी भोजन हो ‘गानवियान जुचियाओ' अर्थात् सिमीलाई खोर्सानी र अन्य सागसँग भुटेको । यो तरकारी पनि वास्तवमा सुँगुरको बोसो चर्वीमै पकाएको हुन्छ र अलिकति टिम्बुर हाल्दा मगमग बास्ना आउँछ ।
थुक्पा हाम्रो जस्तो कहाँ हो र ? भुक्लुक्क उमाल्यो, सुपमा डुबायो र किमा धनियाँ हाली भकाभक खायो । थुक्पा नै सयौं प्रकारको हुन्छ । कोदो, चामल, फापर, आँटा, मैदा, कन्दमूल, तरुलले बनाएको हुन्छ थुक्पा ।
नरम, कडा, चेटो, गाँठो, लामो सबै आकारको हुन्छ । फेरि सुप र झोल कहाँको, कुन राज्यको, कुन जातिको र कुन मसालाको ? खानेकुरा मन पराउनेको लागि जापान-थाइल्यान्ड र भियतनाम र हवाई र ब्राजिलभन्दा पनि धेरै स्वादिला परिकार चीनका गल्लीगल्लीमा पाइन्छ । अनि खल्ती र ल्याकत सुहाउँदिला दामले भरिएको हुनुपर्छ ।
चीनको चमत्कार हेर्न चीन जानैपर्छ । किनभने हाम्रो र चिनियाँको सोचमै फरक छ । हामी हिजो हेरेर आजको बाटो बनाउँछौं । चिनियाँ ५० वर्षपछि हेरेर बाटो बनाउँछन् । यसरी साम्यवादी कम्युनिस्ट राष्ट्र चीन थाहै नपाई पुँजीवादी क्यापिट्यालिस्ट राष्ट्र भयो ।
भाषाचाहिँ साह्रो । अ भन्दा अलंकार बुझ्नुपर्छ, चीनमा हिँडडुल गर्ने, घुम्ने र मज्जा गर्ने हो भने । हातको एक्टिङ, अनुहारको बंगाइ र मुख चलाइबाट मात्रै चिनियाँ भाषा नजान्नेले अघि बढ्नुपर्छ । लाग्छ ५० हजार चिनियाँमा पाँच-दस जनाले अंग्रेजी बोल्न जानेका हुन्छन् ।
र पनि कहाँ पुग्यो चीन ? आजभोलि प्रायः आमाबाबुको सपना नै नानीहरूलाई कसरी अंग्रेजी बोल्न सिकाउने र पारंगत बनाउने भनेर धेरैले स्कुले नानीहरूलाई अमेरिका, इङल्यान्ड आदि मुलुकमा पठाउँछन् । धेरै जनसंख्या भएकाले चीनमा स्कुल, विश्वविद्यालय भर्ना र नोकरीको लागि अति नै होडबाजी हुन्छ । नानीहरू ‘गाउँ' को परीक्षा भनेपछि डराउँछन् किनकि यही परीक्षाले नै उच्च शिक्षा हासिल गर्न सकिन्छ ।
चीनमा चारैतिर पारम्परिक चिकित्सा र ओखतीमूलोको पसल, अस्पतालहरू छन् । तिब्बतदेखि शान्तावनसम्मै लटरम्मै छन् यस्ता पसल । चीनको पारम्परिक ओखती मूलोको आधार नै वनजंगल, उद्भिद् पशुप्राणी भएकाले चिनियाँहरूले यी सबै वस्तु कम भएको बुझी अन्य राष्ट्रबाट ल्याउन थाले ।
सन् १९६० को दसकमा चीनमा लगभग एक करोड ५० लाख कस्तुरी मृग थिए, जो आज घटेर एक लाख ५० हजार भएको छ । यो २५००-५००० मिटरमा पर्वत क्षेत्रमा पाइने एउटा कस्तुरी मृगबाट हरेक वर्ष २० ग्राम कस्तुरी निकाल्न सकिन्छ । यसको मूल्य विश्व बजारमा दुई लाख भारतीय रुपियाँभन्दा बढी हुन्छ ।
यस्तो स्थितिमा चिनियाँहरू वरिपरिका राष्ट्रबाट बाघको पित्त, हड्डीदेखि लिएर पांगोलिन आदि व्यापक रूपमा भित्र्याउँछन् । अर्बौं रुपैयाँको यो अनैतिक व्यापारमा छिमेकी राष्ट्रहरू विस्तारै रुमलिँदै छन् । विकासले ल्याएको तनाव र विकृतिले चीन मात्रै होइन, छरछिमेकीहरू पनि यसरी खाँदैछन् ।
चीनको चमत्कार हेर्न चीन जानैपर्छ । बाटोमा एउटा दुइटा वाहन चल्छ र पनि फराकिलो बाटो बनाइएको छ । किन भन्दा पचास वर्षपछि यहाँ धेरै वाहन चल्छन् रे । हामी हिजो हेरेर आजको बाटो बनाउँछौं । चिनियाँ ५० वर्षपछि हेरेर बाटो बनाउँछन् । सोचमै फरक छ । त्यसमाथि चीन सरकारसँग यति पैसा छ, कहाँ कसरी खर्च गरौं भन्छ । साम्यवादी कम्युनिस्ट राष्ट्र चीन थाहै नपाई पुँजीवादी क्यापिट्यालिस्ट राष्ट्र भयो । तर चीन यो कुरा भन्नै मान्दैन 

Digg Google Bookmarks reddit Mixx StumbleUpon Technorati Yahoo! Buzz DesignFloat Delicious BlinkList Furl

0 comments: on "चिनियाँ, चीन र चा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews. It is published simultaneously in this site as well as http://kalimpongnews.net.
Please be decent while commenting and register yourself with your email id. Your id will be kept secret, as far as practicable.

Popular Posts