-->
रोङ्गो उच्चतर माध्यमिक विद्यालयको वार्षिक खेलकुद समारोह सम्पन्न

रोङ्गो उच्चतर माध्यमिक विद्यालयको वार्षिक खेलकुद समारोह सम्पन्न

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 18 दिसम्बर। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको 45 नम्बर समष्टि अन्तर्गत रोङ्गोमा अवस्थित रोङ्गो उच्तर माध्यमिक विद्यालयले आफ्नो वार्षिक खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। 
देश स्वतन्त्र हुन एक वर्षअघि अर्थात् 1946 सालमा स्थापित यो विद्यालय क्षेत्रकै सभैभन्दा पुरानो विद्यालयहरूमध्ये एक हो। स्थापनाको 70 औँ वर्षगाँठ मनाइरहेको यस विद्यालयले विभिन्न खेलकुद कार्यक्रम सँगसँगै मनमोहक ड्रिल प्रस्तुत गरेर कार्यक्रमको भव्य समापन गरेको थियो। 
रोङ्गो सिन्कोना विभागका वयवस्थापक विदुर कार्की मुख्य अतिथि रहेको कार्यक्रममा जलढका सहकारी ब्याङ्कका प्रबन्धक रोशन प्रधान, समाजसेवी आरबी छेत्री, रोङ्गो प्राथमिक पाठशालाका प्रधान अध्यापक सीबी गुरुङ लगायत विद्यालयका भूतपर्व विद्यार्थीहरू एवं विभिन्न शैक्षिक संस्थानहरूका प्रमुखहरूको विशेष उपस्थित रहेको थियो। विद्यालयका प्रधान अध्यापक कोमल चन्द्र शर्माको स्वागत सम्बोधनपछि शुरू भएको कार्यक्रममा विद्यार्थीहरूद्वारा मार्च पास प्रस्तुतिपछि खेलकुद प्रतिगोगिता आरम्भ भएको थियो। 
आफ्नो छोटो सम्बोधनमा प्रधान अध्यापक शर्माले दुर्गम क्षेत्रमा रहेका विद्यार्थी र विद्यालयलाई लिएर यस्तो ठूलो कार्यक्रम गर्न आर्थिक लगायत विभिन्न समस्याहरू आइपर्ने बताए। यसैमाथि सरकारको नोटबन्दीको घोषणाले पनि कार्यक्रममा प्रतिकूल प्रभाव पर्न गएको उनले बताए। यी सबै परिस्थितिबीच अविभावकहरूले जुन सहयोग पुऱ्याए यसको उनले मुग्धकंठले प्रशंसा पनि गरे। 
अर्कोतिर विद्यालयका खेलकुद शिक्षक रेमण्ड फुदुङले विद्यालयका 4 सय भन्दा अधिक विद्यार्थीहरूलाई एकैसाथ लिएर मास ड्रिल जस्तो कार्यक्रम गराउन धेरै परिश्रम र समय लाग्ने बताए। सबै विद्यार्थी सिक्ने क्षमता एक समान नहुँदा पनि अझ कठिनाइ हुने उनको भनाइ थियो। यद्यपि हरेक खेलकुद कार्यक्रममा विद्यार्थीहरूलाई समावेश गराएर उनीहरूको शैक्षिक लगायत अन्य विषयहरूमा दक्षता बढाउन नै वार्षिक खेलकुद जस्तो वृहत आयोजना गर्न विद्यालय अग्रसर बनेको उनले बताए। 
यता मुख्य अतिथिका आसनबाट बोल्दै वयवस्थापक कार्कीले रोङ्गो उच्चतर माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा पुऱ्याएको योगदानको प्रशंसा गरे। क्षेत्रकै पुऱाको शैक्षिक संस्थान रहेकोले यो क्षेत्रको विकासमा विद्यालयको अहम भूमिका रहेको उनले बताए। यता विद्यार्थाहरूमाझ मार्च पास, रिले रेस, पोइजन बल, स्कीपिङ रेस, पुलिङ द क्याप, सुटके ऱ्याली, बलुन बर्स्ट आदि खेलहरू सम्पन्न भएको थियो। 
कार्यक्रमकै मुख्य आकर्षनको रूपमा रहेको मास ड्रिल डिस्प्ले कार्यक्रममा विद्यालयका 4 सयभन्दा अधिक विद्यार्थीहरूले एकैसाथ अङ्शग्रहण गरेका थिए। 
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विजय गुरुङ अनि विष्नु छेत्रीले गरेका थिए भने कार्यक्रममा शिक्षक रतन लामाद्वारा तयार पारिएको विद्यालयको नयाँ लोगोको पनि अनावरण गरिएको थियो। 
कार्यक्रममा रोङ्गो क्षेत्र लगायत जलढका, परेङटार, कुमाइ आदि क्षेत्रका मानिसहरूको पनि व्यापक उपस्थिति रहेको थियो।

0 Response to "रोङ्गो उच्चतर माध्यमिक विद्यालयको वार्षिक खेलकुद समारोह सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.