-->
सिटीको ‘तिर्रर...’ आवाजले कालेबुङ शहर गुञ्जयमान   गोजमुमोको पतन यहीँबाट शुरू भएको छ - डा. हर्क

सिटीको ‘तिर्रर...’ आवाजले कालेबुङ शहर गुञ्जयमान गोजमुमोको पतन यहीँबाट शुरू भएको छ - डा. हर्क

डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 अप्रेल। तिर्रर...तिर्रर... सिटी बज्यो आज दिनभरी कालेबुङ शहरमा। सिटी बजाउनेहरूले सिटि मात्र बजाएनन् तर उनीहरूले भने ‘यता फर्क उता फर्क, चारैतिर हर्कै हर्क’। सिटी यति भिडले बजाए जुन भिडले बजाएको सिटीको कर्कस आवाजले शहरका मानिसहरूलाई सडकमा के हो भनेर हेर्न बाध्य बनायो। मानिसहरूले घरबाट बाहिर निस्केर हेर्दा जन आन्दोलन पार्टीका प्रार्थी डा. हर्कबहादुर छेत्रीको समर्थनमा युवा एकाईद्वारा निकालिएको चुनावी जुलुस थियो।
चुनावी जुलुसमा सहभागी बन्न आएका सम्पूर्ण समर्थकहरूको मुखमा सिटी थियो अनि हातमा फहराएका थिए जन आन्दोलन पार्टीको झन्डा। जाप युवा एकाइद्वारा चुनावी शक्ति प्रदर्शनको रूपमा निकालिएको जुलुसमा विभिन्न क्षेत्रबाट धेरै भीडको साथमा युवा कार्यकर्ताहरू भेला भएका थिए। भिडले डा. हर्कबहादुर छेत्रीको चुनावी चिन्ह ‘सिटी’ फुकेर शहर परिक्रमा गरेको थियो । ठाउँठाउँमा चुनावी जनसभा गरेपछि जापले आज युवाहरूलाई कालेबुङ बोलाएको थियो। जहाँ जाप समर्थक युवाहरूले जिल्लाको पक्षमा हिँड़ेरै नै कालेबुङ आएर नयाँ रेकर्ड बनाए भने सोही भेलामा उपस्थित युवाहरूको समावेश देखेर हर्षित बन्दै डा. छेत्रीले ‘गोजमुमोको अन्त यहीँबाट भयो’ भनि घोषणा गरे।
‘एक समय यस्तो भीड़को अघि विमल गुरूङ हुन्थे अनि त्यो समय जनता एउटा सकारात्मक परिवर्तनको लक्ष्य बोकेर आएका थिए। तर जनताको भावनासंग गोजमुमोले खेल्यो अनि त्यही कारण यो भेल अर्कैतिर गयो। जुन भेलको अघि कुनै एउटा नेता होइन, तर एउटा जमात नै छ’ जाप प्रार्थी डा. छेत्रीले भने।
उनले जनसभालाई सम्बोधन गर्नेक्रममा जापले जनभावनासँग कहिले खेलवाड नगर्ने प्रतिबद्धता समेत लिएको बताए अनि चुनाउ जितेको खण्डमा कालेबुङलाई देशकै सर्वश्रेष्ठ जिल्ला बनाउने दावी गरे। यसका साथै अब कालेबुङ मात्रै होइन तर खरसाङ, दार्जीलिङ र सिलगड़ीमा पनि जापको सिटी बज्ने घोषणा गरे।
उनले 8 वर्षदेखि गोजमुमोले जनतालाई ढाँटिरहेको आरोप लगाउँदै ‘कालेबुङलाई ढाँट्यो, मोर्चाकै नेताहरूलाई पनि ढाँट्यो, यसैले कालेबुङका गोजमुमोका साथीहरूले पनि मतदान चाहि जिल्लाकै पक्षमा गर्नेछन्’ भनि दाबी गरे। कालेबुङ जिल्ला कालेबुङवासीका निम्ति स्वभिमानको मुद्दा रहेको कारण पनि जनताले कालेबुङ जिल्लाको पक्षमा मताधिकार प्रयोग गर्ने दाबी गरे। यसक्रममा डा. छेत्रीले गोजमुमोलाई जिल्लाको विरोधीको संज्ञा दिए।
‘गोजमुमो कालेबुङ जिल्लाको दुश्मन हो। कालेबुङको हित हुँदा बिगार्न खोज्नेलाई अब कालेबुङले नै जवाफ दिनुपर्छ’ डा. छेत्रीले भने। जन आन्दोलन पार्टी गोजमुमोको विकल्पको रूपमा जन्मेपछि नै चारवर्षमा नगरेको काम गर्न मोर्चालाई यतिबेला हतार परिरहेको आरोप लगाए। ‘अहिले म जहाँ जहाँ जान्छु त्यहाँ सडक टाल्ने काम हुन्छ। सड़क पुगेको छैन भने जापलाई बोलाउनुहोस्, हामी पुग्नसाथ डोजरहरू पुगिहाल्छ। विजुलीको पोलहरू पुग्छ। जुन काम पहिल्ये मुख्यमन्त्रीहरू आउँदा मात्रै हुन्थ्यो’ डा. छेत्रीले गोजमुमो पार्टी प्रति व्यङ्ग्य गर्दै भने।
जापको उपस्थितिले मात्रै पनि जनताको चोरेको पैसा जनताकहाँ नै फर्किएको छ भनि उनले आरोप लगाउँदै यो जापकै एउटा ठूलो उपलब्धि हो भने। उनले आम जनता भनेको सुनको अण्डा दिने कुखुरा जसतो भएको छ यसकारण नै डोजर आउँदैछ, पोल आउँदैछ, तर 17 अप्रेल अघि नै पोलहरू घरभित्र हालिहाल्नु। नत्र 18 अप्रेलमा त्यो सब उठाउन ठूलो गाड़ी पठाउन सक्छ भनि मोर्चालाई कटाक्ष गरे।
सम्बोधनको क्रममा उनले ‘ कुच्चे, कोदालो बनाउनेले जस्तो काम गर्यो भनेर गोजमुमोले आरोप लगाएछ' भन्दै यो बयान अनुसूचित जातिहरूको खिल्लि उडाउन रहेको दाबी गर्दै सार्वजनिक रूपमा कुनै जातिमाथि यस्तो लाञ्छना लगाउनु अपराध हो भने यसको निम्ति कानूनी रूपमा अघि बढ्नेछौं भनि मोर्चालाई चुनौति दिए। 
चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा उनले गोजमुमो कालेबुङ विधानसभा समष्टिका प्रार्थी सरिता राई प्रति पनि प्रहार गरे। ‘गोजमुमो प्रार्थीले चुनाउ जित्नसाथ राजीनामा दिने भन्दैछिन्। किनकि उनी गोजमुमो अध्यक्षको निर्देश मान्छिन् रे। विमल गुरूङको निम्ति राजीनामा दिनेले विमल गुरूङलाई भोट मागुन्। किनकि उनी विमल गुरूङप्रति मात्रै जवाफदेही बन्नेछिन्’ डा. छेत्रीले भने।
उनले सिटी बजाएरै गोजमुमोको भ्रष्टाचारले भरिएको राजनैतिक ट्राफिक जाम गराइदिनेछौं भने।
चुनाउ हार्ने डरले गोजमुमोले जनजातिको मुद्दालाई नारा बनाउने प्रयास गरिरहेको पनि अभियोग लगाए। जनजातिको मुद्दामा सिक्किमको निम्ति सिक्किम सरकारले रिपोर्ट पठाउँनेछन्, तर दार्जीलिङको निम्ति राज्य सरकारले रिपोर्ट पठाउने बताउँदै कमिटीलाई दार्जीलिङमा विमल गुरूङ छ भन्ने कुरा जानकारी पनि छैन भने। किनकि यो राज्य सरकारले नै गर्ने काम रहेको कारण यस्तोमा गोजमुमोको सम्बन्धले बनिने काम पनि बिगार्छ भने।
कालेबुङ जिल्ला भए गोजमुमोको संगठन स्वेटरको धागो जस्तो खुस्किने भयले नै मोर्चा चिन्तित रहेको अभियोग लगाउँदै ‘सोही कारण गोजमुमो अध्यक्ष घरि कालेबुङ भोटाङ्को भन्छन्, घरि कालेबुङ जिल्ला हाम्रो मुद्दा भन्छन्’ भने। सागर छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा जाप ब्यूरो सदस्य अनमोल प्रसाद, अमर लामा, नीति निर्धारण समितिका युसुफ सिमिक आदिको विशेष उपस्थिति रहेको थियो। सभालाई युवा प्रतिनिधिहरू सन्दीप कुलुङ, होमनाथ शर्मा, भूपेन्द्र राई लगायत अन्यले सम्वोधन गरेका थिए।

0 Response to "सिटीको ‘तिर्रर...’ आवाजले कालेबुङ शहर गुञ्जयमान गोजमुमोको पतन यहीँबाट शुरू भएको छ - डा. हर्क"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.