-->
विवाह गर्ने गलत कारणहरू

विवाह गर्ने गलत कारणहरू

इ वचन, कालिमन्युज, 30 अक्टोबर 2014: आज धेरै जवानहरूले विवाहको अर्थ वा उद्देश्य नबुझि भावनामा बहेर विवाह गरेका छन् । कतिजना आमा–बाबुको करले विवाहमा प्रवेश गरेका छन् । धेरैले विवाह किन गर्ने हो थाहा नै नपाईं विवाह गरेका छन् । कैयौँ विवाह गलत कारणले भएको हुँदा नै छोटो समयमा नै दुःखदायी अवस्थाबाट विवाहहरू अन्त्य भएका छन् । तसर्थ यहाँ उल्लेखिन विवाह गर्ने पाँच गलत कारणहरूले हामीलाई अझ विवाहको बारेमा बुझनलाई सहयोग गर्नेछन् ।
क. विवाहले एक्लोपनको अन्त्य गर्नेछ
धेरैले आफू एक्लोपनको महसुस गर्दछन्, र एक्लोपनको अन्त गर्न विवाह नै उत्तम बाटो सोचेर विवाह गर्ने निर्णय गर्दछन् । शहरी क्षेत्रका प्रायः मानिसहरू व्यक्तिवादी प्रवृत्तिका भएका हुँदा एकान्त र एक्लोपनको महशुस बढिरहेको छ । विवाह के हो र विवाहपछिको जिम्मेवारी के हुन भन्ने कुराको पर्वाह नगरी विवाह गरेकाहरूले धोका खाएका छन् । विवाहले तपाईंंको उदासिनता र एक्लोपनको अन्त्य गर्छ भन्ने कुनै ग्यारेन्टी छैन । तसर्थ विवाहपूर्व नै सोच्नुहोस् कि तपाईंं कुन कारणले एक्लोपन महशुस गरिरहनुभएको छ । त्यसप्रकारको घायल अवस्थामा विवाह गर्नाले तपाईंंले विवाह गर्नुभएको जिवन–साथीलाई पनि एक्लोपनको अनुभुति गराउनुहुनेछ ।
एक्लै हुनु र एक्लोपन फरक कुरा हो । केही साता अघि नायक राजेश हमालज्यूलाई उहाँ एक्लै बस्नुको कारण अन्तवार्तामा सोधिएको थियो । उनको उत्तर थियो, म अहिले एकलै छु, तर म एक्लो छैन । मदर टेरेसाले पनि भनेका छन्, एक्लोपन नै सबैभन्दा गरिबी हो । अथवा एक्लोपनमा जिउनु सबैभन्दा गरिबीपन हो । तसर्थ किन एक्लोपनको अनुभव भएको छ, त्यससँग व्यवहार गर्नुपर्दछ । कुलतमा फसेको कारण वा कसैले धोखा दिएको कारण पनि एक्लोपनको अनुभव हुन सक्छ । उहाँको उपस्थितिमा ती कुराहरूसँग व्यवहार गरिएको हुनुपर्दछ ।
ख.विवाहले तोडिएको मनलाई निको पार्नेछ
विवाह चोट निको पार्ने औषधी होइन कारण एउटा स्वस्थ विवाह कहिल्यै पनि चोटपूर्ण सम्बन्धको जगमाथि स्थापित हुन सक्दैन । तपाईंंले कसैबाट चोट पाउनुभएको छ वा धोखा खानुभएको कारण त्यस केटा वा केटीलाई देखाउन वा वदला लिनलाई विवाह गर्दै हुनुहुन्छ भने त्यो विवाह कमजोर उद्देश्यमाथि स्थापित विवाह हो । यदि यसो हो भने हामीले गलत विचारमा विवाह गरिरहेका हुनेछौ । कालान्तरमा यसको नोक्शानी आफैंले नै उठाउनुपर्ने हुन्छ । जुन चोट तपाईंंले पाउनुभयो त्यसबाट पाठ सिकेर बरु अरुलाई पनि सतर्क गराउने काम गर्नु धेरै बुद्धिमानी हो । यदि तपाईंंले यसो गर्नुभएको छैन र अझ अरुलाई पनि चोट पुर्‍याउने मनसाय लिनुभएको छ भने योभन्दा मुर्खता अरु केही हुनसक्दैन । किनकि विवाहपछि तपाईंंको जिवन–साथीले तपाईंंका चोटहरू निको पार्न सक्छ भन्ने केही ग्यारेन्टी छैन ।
तपाईंं आफ्ना विगतका सबै चोटहरूबाट पूर्ण रुपमा निको नहुञ्जेलसम्म विवाह नगर्नु असल हो, नत्र तपाईंंले आफ्नो जिवन–साथीलाई झन चोट पु¥याउनुहुनेछ । विवाहपछि चोटपूर्ण व्यक्ति भएर बस्नु भन्दा त बरु विवाह नगरिबस्नु नै उत्तम हो । तसर्थ कसैले यसरी भनेका छन्, “यो संसारमा सबैभन्दा दुःखी मानिसहरू अविवाहितहरू होइनन् तर विवाहितहरूनै हुन्, जोहरू आफ्ना विवाहलाई गल्ती हो भनि विचार गर्दछन् ।
तपाईंंका चोटहरू परमेश्वरकहाँ ल्याउनुहोस् र उहाँलाई दिनुहोस् । उहाँले तपाईंंका आत्मिक, शारीरिक अनि भावनात्मक रोगहरू निको पार्नुहुन्छ । उहाँद्धारा निको पारिएको भई विवाहमा प्रवेश गर्दाको आनन्द भिन्नै हुनेछ ।
मैले एकजना बहिनीको घटना सुनेको थिएँ । उनले एकजना भाईसँग प्रेम गर्दथे । दुबैले पछि गएर विवाह गर्ने निर्णय लिए । उनीहरूको बीचमा पत्रचारको आदान–प्रदान भइनैरहेको थियो । तर बहिनीलाई थाहा नै नदिई भाईले अर्काे केटीसँग विवाह गर्ने निर्णय गरे । उनको मगनी अर्काे केटीसँग तय भयो । दुबैले मगनीपछि निमन्त्रणा कार्ड बाँडे । यो कुरा भाईले पत्र लेखिरहेकी बहिनीले थाहा पाइन् । उनले आफूलाई धोखा दिएको अनुभव गरिन् । किनकि उनले पाँचवर्षदेखि त्यस केटालाई पर्खिरहेकी थिइन् । तर आज अचानक उनले आफूलाई विवाह गर्छु भनेको केटाले अर्काे केटीसँग विवाह गर्न तयार भएको देखेर ती बहिनीको जिवनमा भैचालो नै गयो । उनले केटाको पास्टरलाई यी सबै कुरा बताइन् । यो कुरा थाहा भएपछि मिलाउन धेरै गाह्रो भयो । बहिनीले केटाले लेखेका सबै पत्रहरू पनि पास्टर र अगुवाहरूलाई देखाइन् । उनी रोइन् अनि कराइन् । तर अर्काे विकल्प थिएन । धेरै लामो समयको परामर्शपछि यी बहिनीले केटाको विवाह नरोक्ने सहमत भइन् । उनी विवाहमा आइनन् । ती दुबै केटा र केटीको विवाह भयो । तर पहिले नै अर्काेसँग विवाह गर्ने करार बाँधेको कारण उनीहरूको विवाहमा धेरै समस्याहरू आए । विवाह भएको केटीले पनि ती केटाको पहिलेका सबै कुराहरू थाहा पाइन् जसको कारण लगभग उनीहरू विवाह गरेको केही समयमा नै छोडपत्र गर्न सम्म पुगेका थिए । एक दुई पटकसम्म म पनि उनीहरूलाई प्रार्थनाको निम्ति गएँ ।
चोटहरू लिएर विवाहमा प्रवेश गर्नु डरलाग्दो कुरा हो । तसर्थ विवाहपूर्वका सम्बन्धहरू निको हुनु जरुरी छ । नत्रता त्यसले विवाहपछिका दिनहरू कठिन बनाउनेछ ।
ग. विवाहले सुख र खुशीको सुनिश्चित गराउँदछ ।
अवश्य नै विवाहमा परमेश्वरले आनन्द आनन्द राखिदिनुभएको छ । तर सधै खुशी र सुखको ग्यारेन्टी विवाहले गराउदैन । विवाह गर्नुपर्ने उद्देश्य खुशी र सुखको निम्ति होइन् । विवाहअघि धेरैले सुन्दर संसारको कल्पना गरेका हुन्छन् र त्यस्तो सोचाइ राख्नु गलत अवश्य होइन तर ती सबै विवाहपूर्व देखेका सपनाहरू पूरा हुन्छन भन्ने छैन । काल्पनिक खुशीको सपना देखेर विवाह गरेकाहरूलाई पछि त्यो पूरा नहुँदा दुःखीत हुने र निराश बन्ने अवस्था पक्कै पनि आउँछ । विवाहको अर्थ र उद्देश्य बुझेकाहरूले विवाहपछि आउने संघर्ष र समस्याहरूमाझ पनि आनन्दित भई स्थिर रहन्छन् । तर विवाह खुशीको निम्ति मात्रै हो भन्नेहरूलाई भने समस्या आउँदा खडा भइरहन धेरै गाह्रो हुनेछ र कतिले त त्यस अवस्थामा आफूलाई सम्हाल्न नसकेकाले मृत्युसम्मको गलत निर्णय गर्दछन् ।
विवाह अरुलाई मन राख्न र खुशी राख्नलाई पनि होइन । कसैल तपाईंंलाई धेरै माया गर्छ भन्ने वित्तिकै विवाहको निर्णय गर्नुपर्छ भन्ने छैन । मलाई विवाह नगरे म आत्मा–हत्या गर्छु भन्ने धम्की दिएको कारण यदि उसलाई खुशी पार्नका निम्ति कसैले विवाह गर्ने हो भने, त्यसले डरलाग्दो जोखिमतिर विवाहलाई लैजानेछ । ती जगमा उभिएर गरिएको विवाहले वैवाहिक जीवनमा खुशी दिँदैन किनकि त्यहाँ एउटालाई खुशी पार्न अर्कोले आफ्नो जीवन वलिदान गर्दैछ । यदि मानिसहरूले अरुलाई दया गरेर उसको खुशीको निम्ति विवाह गर्छन् भने त्यहाँ एउटा खराव परम्पराको थालनी भएको छ भन्ने कुरा थाहा हुन्छ । विवाह मानिसलाई दया देखाउन गरिदैन, यो त एक–अर्काप्रति गरिने समर्पण सहितको प्रेम हो ।
घ. परिवारको आवश्यकता पूरा गर्न
मैले एस. एल. सी. पास गरिसेकपछि कलेजको निम्ति म घरदेखि टाढा गएर अध्ययन गर्न जानुपर्ने भयो । मेरी दिदीको विवाह सानै उमेरमा भइसकेकाले घरमा चूलो–चौका गर्ने व्यक्तिको आवश्यकता थियो । मेरा अरु तीनजना भाईहरू सानै थिए । एकदिन कलेजको विदाको समयमा घर आएको थिए । मेरो बोजु (प्रायः म आमा भनेर बोलाउने गर्छु) ले विवाहको कुरा उठाउनुभयो । त्यतिबेला म केवल १८ बर्षमा मात्र भर्खर टेक्दै थिएँ । कतै मेरो विवाहको उत्सवलाई नदेखी उहाँको जीवन वितेर पो जान्छ कि भन्ने उहाँ सम्झनुहुन्थ्यो । मलाई भने त्यस समयमा विवाहको निम्ति कुनै चाहना नै थिएन । हो, घरमा चुला चौका गर्ने व्यक्तिको आवश्यकता निश्चय नै थियो तर त्यो नै विवाहको मुख्य कारण हो भनेर मैले ठानिनँ । मेरो सोच त अझ धेरै पढ्ने नै थियो । त्यसैले मैलै बारम्बार बोजु (आमा) को प्रस्तावलाई अस्विकार गर्दैगएँ । त्यस कुराले अवश्य पनि मेरी बोजुलाई ठूलो चोट पुग्यो होला, तर पनि मेरो निम्ति विवाह गरेको भए म खुशी हुन सक्ने थिइनँ र मेरो पढ्ने सपनाहरू अधुरो नै रहनेथिए । किनकि विवाह भनेको के हो भन्ने कुरा मलाई त्यतीबेलासम्म पनि केही थाहा थिएन ।
मैले बोजुलाई भन्ने गर्थेँ कि एकदिन समय आउनेछ र म विवाह गर्ने छु । जब म विवाहको लागि तयार हुनेछु अनि तपाईं लाई अवश्य जानकारी गराउनेछु । मेरो विवाह नभएसम्म परमेश्वरले तपाईंंलाई उठाउनुहुने छैन ।
जब म २३ वर्षको भएँ, मैले प्रेम गरेकी मेरी श्रीमतिलाई लिएर बोजुलाई भेट्न गाउँमा गएँ । अनि त्यस पछि बोजुले सोध्नुभयो –“यी नानीचाहिँ को हुन नि ?” मैले भने “देल्मी” हुन् । देल्मीको अर्थ थुलुङ्ग भाषामा वुहारी भनेको हो । मैले फेरी भनेँः “हामीले प्राथना गरिरहेका छौँ ।”
यो कुराले उँहा अत्यन्तै खुसी हुनुभयो । साँच्चै हामीले त्यसको एकवर्षपछि सन् १९९६ अप्रिलमा विवाह ग¥यो । सायद मैले त्यो बेला मेरी बोजुको भावकुतालाई देखेर विवाह गरेको भए, म धेरै खराब दिनहरूबाट भएर गुज्रनेथिए होला ।
प्रिय मित्र कतै तपाईं कसैको करकापमा परेर वा परिवारको आवश्यकता देखेर कतै विवाह गर्दैहुनुहुन्छ कि ? तपाईंले विवाह के हो भन्ने कुरा थाहै नगरि वैवाहिक जीवन प्रवेश गर्नुभयो भने त्यसबाट तपाईंंले धेरै सघर्ष गर्नुपर्ने हुन्छ । किनकि त्यो विवाह गर्नुपर्ने बाइबलीय कारण होइन ।
म आज पनि मलाई धरान पवित्र मण्डलीको एक जना गुरुङ्ग दाई र दिदीको याद आउँछ । दिदीको विवाह गर्ने इच्छा नहुँदा–हुदै पनि परिवारको दवावका कारण विवाह गर्नु भएको थियो । मैले थाहा पाएसम्म केटीले केटासँग विवाह गर्न चाहेका थिएनन । विवाह भएको एक वर्षसम्म तिनीहरू एक साथ रहेर पनि एउटै पलंगमा सुत्न सकेनन् र आखिरमा केहि वर्षको अन्तरालमा दुवैको जवानी अवस्थामानै मृत्यु भयो । आज दिनप्रतिदिन यस्ता कहालीलाग्दा दुखद घटनाहरू दोहोरिरहेका छन् ।
गत अषाढ महिनामा हो भन्ठान्छु, एकदिन कान्तिपुरमा एउटा चित्र सहित समाचार छापिएको थियो, जसमा एक जना व्यक्ति बन्दको कारण आफ्नो पत्नीलाई विवाह पछि रिक्सामा चढाएर हतार साथ टुडिखेल नजिक गइरहेको थियो । अझै तल क्याप्सनमा लेखिएको थियो, उक्त नव विवाहित श्रीमानचाहिँ त्यसको भोलि पल्टै कतार उड्दैछन् । कस्तो विडम्बना ! कसको निम्ति ती दुलहाले त्यति हतारमा विवाह गरेको हुन् ? पुरानो करारको विधिअनुसार त सेनामा काम गर्ने पुरुषले भखरैमात्र विवाह गरेको
भए १ वर्षसम्म पत्नीसँग रहनको निम्ति विदा पाउनुपर्ने कुरा लेखिएको छ (व्यवस्था २४ः५) । एकजना जवान केटाले विवाह गर्नुपर्ने कारण आमा–बाबुको निम्ति खाना पकाउने व्यक्ति नभएको कारणले हो भने त्यो गलत हो । कहिले काहिँ आमा–बाबु दुबै धेरै बृद्ध छन र उनीहरूलाई देखभाल गर्ने अन्य दाज्यू–भाईहरू नभएको खण्डमा सोच्नुपर्ने हुन्छ । तर किन विवाह गर्ने हो सो बारेमा थाहा पाउनु जरुरी हुन्छ । विशषगरि विवाह गर्ने केटा र केटीले यो देशको कानुनबमोजिम उमेरको हदलाई पनि ध्यान दिनुपर्ने हुन्छ । नेपालको कानुन अनुसार केटा अठाह्र वर्ष र केटी सोह्रवर्ष पुगेको हुनुपर्दछ । उमेरको साथै उनीहरू दुबै शारीरिक, भावनात्मक, आर्थिक र आत्मिक रीतिले पनि तयार हुनुपर्दछ ।
ङ. विवाह सबैको निम्ति परमेश्वरकोे योजना हो ।
विवाह सबै मानिसका निम्ति अनिवार्य हो भनेर सबैलाई विवाहको निम्ति ठोकुवा गर्नु बाइबलीय होइन । मत्ती १९ः१२ मा प्रभु येशुले फरिसीहरूको प्रश्नको उत्तरमा यो शिक्षा सिकाउनुभयो, “किनकी कोही त जन्मैदेखी नै नपुसंक हुन्छन्, अरुलाई चाहिँ मानिसहरूले त्यस्ता बनाए, अनि अरुले चाहिँ स्वर्गको राज्यको लागि विवाह गर्न रुचाउँदैनन् । जसले यो स्वकिार गर्न सक्छ त्यसले गरोस् ।”
पावलले १ कोरिन्थी ७ः२८ मा विवाहमा धेरै दुःख हुने हुनाले त्यसबाट जोगाउन चाहन्छु भनी सल्लाह दिएका छन् । तसर्थ कोही विवाह नगरि नै एकलो भएर नै जीवनभर रहन चाहन्छ भने त्योे बाइबलीय छ । हाम्रो समाजमा प्रायः पाको उमेरसम्म अविवाहित रहेमा नकारात्मक रुपमा हेर्ने गरिन्छ । कसलाई के थाहा परमेश्वरले उनीहरूलाई त्यसैको निम्ति पनि बनाउनुभएको हो भनेर । यसकारण विवाह नगरी बस्नेहरूले दुखित हुने कुनै कारण छैन । विवाहित हुनु र अविवाहित भएर जिउनु दुवै नै परमेश्वका दान हुन् । विवाह गर्ने कुनै चाहना नै छैन उमेर ढल्की सक्यो साथीहरूले जिस्काउन सक्छन् भनेर तपाईं जिवन–साथीको खोजीमा निस्कनुभएको छ भने त्यो गलत हो ।
धेरै जवान बहिनीहरू आफ्नो विवाहको बस छुट्ने डरले चाँडै विवाहको निम्ति सहमति दिन्छन् । यदि तपाईंं ख्रीष्टियान केटी हुनुहुन्छ भने सधै याद गर्नुहोस्, जिवन चाहिँ पति पाउनुभन्दा उत्तम हो । परमप्रभुमा समर्पित हुनुहोस् जसको निम्ति उहाँले तपाईंंलाई बोलाउनुभएको छ । यदि अविवाहित रहेर नै सेवकाइ गर्नुपर्छ भने पनि तयार रहनुहोस् । विवाह गरेर भविश्यमा समस्याहरूले झेलिनुभन्दा विवाह नगरि प्रभुको सेवा गर्नु असल हुन्छ । विवाह गर्ने वित्तिकै खुशी हुन्छ भन्ने ग्यारेन्टी छैन नत्र आज धेरै विवाहितहरू किन असन्तुष्ट छन् । विश्वासको परिपक्वता विवाहले ल्याउदैन । नेपाली समाजले भन्ने गर्छन्, विवाह नगरेसम्म उ परिपक्व मानिस बन्दैन । तर परमेश्वरको अघि परिपक्व र भरोसायोग्य हुनेकुरा मैले विवाह गरेको छु कि छैन भन्ने कुरामा निर्भर रहदैन ।
धेरै कारणहरूले पनि धेरै जवानहरूले विवाह गर्न इच्छा नहुँदा नहुँदै पनि विवाहमा प्रवेश गर्छन् ।
सुरक्षाको कारण
हरेक अविवाहित आफ्नो जिवनमा अविवाहित हुदा आउने डरहरूले सताइरहन्छ । सकभर बृद्धा उमेरमा आउने आर्थिक दरिद्रता । साथै सामजिक सुरक्षाका कुराहरू पनि छन् । तर विवाह नै हाम्रो आर्थिक र भावनात्मक सुरक्षा होइन । आफ्नो जिवनको सुरक्षा परमेश्वरमा खोज्नुपर्दछ भजनसँग्रह १२१ः८, भजनसँग्रह ४०ः११) । परमेश्वरसँगको सम्बन्धले नै सुरक्षा दिन्छ । नत्र आज धेरै विवाहहरू छुटने थिएनन् । एकले अर्काेलाई चोट पार्ने काम हुनेथिएन ।
सन्तान लोप भएर जाने डरको कारण
हरेक विवाह भित्र परमेश्वरले सन्तानको आशिष राखिदिनुभएको छ । तर के सन्तान हुनु मात्र सुरक्षा हो र ? धेरै सन्तानहरूले आमा–बाबुलाई छोडेका छन् । कयौं आमा–बाबु बृद्ध आश्रममा छन् । यसैले सबै छोराछोरी भएका आमा–बाबु खुशी नै छन् भन्ने छैन । छोराछोरीहरूद्धारा धेरै दुःख कष्ट पाएका धेरै आमा–बाबुहरू हामी देख्छौ ।
सबै विवाह गरेका जोडीहरूसँग आफ्ना नानीहरू हुन्छन् नै भन्ने छैन् । पावलले कहिल्यै विवाह गरेनन तापनि उनी कहिल्यै आर्थिक कुराहरूको बारेमा फिक्री गरेनन् । आर्थिक अभाव थिएन भन्ने होइन तर उनले ती सबै कुराहरूले उनको मिसनको कार्यमा कुनै बाधा ल्याएन । उनका शारीरिक सन्तान नभएतापनि उनका आत्मिक हजारौ सन्तानहरू थिए । उनले गरेका सेवाको कारण उनलाई वास्ता गर्ने मानिसहरूको कहिल्यै अभाव भएन । हामीहरूमध्ये जतिजना अविवाहति रहने निर्णय गरेका छौ । हामी प्रभुको सेवामा लागिरहौं, उहाँले नै हामीलाई धेरैभन्दा धेरै आत्मिक छोराछोरीहरू दिनुहुनेछ, जसले हामीलाई आफ्नो कोखको सन्तानले भन्दा धेरै माया दिनेछन् । मदर टेरेसा एकलै भारतको कोलकत्ता आइन् । जिवनभर विवाह गरिनन् तापनि उनी कहिल्यै एक्लोपनको महसुस गरिनन् । परमेश्वरप्रतिको उनको समर्पणता र मानिसहरूप्रतिको सेवाको कारण उनले हजारौं सन्तानहरू पाइन् ।
पावलले तिमोथीलाई आफ्नो आत्मिक छोरा भनि बोलाउछन् । विशेष गरि उनले तिमोथीलाई उनले विश्वासमा डोहोरयाए (१ तिमोथी १ः१, २ तिमोथी २ः१) ।
अविवाहित भएर जिउनेहरूप्रति मण्डलीको दायित्व
आपूm अविवाहित भएकोमा हरेक जवान भाई र बहिनीले हामी उत्सव मनाउन सिक्नुपर्दछ । हामी परमेश्वरलाई चिनेका व्यक्तिहरूको निम्ति जिवन जिउनुको अर्थ अझ बढि छ । हामीले जिवनलाई उत्सव मनाउनुपर्दछ । यो पृथ्वीमा हामीलाई परमेश्वरले दिनुभएको जिवनलाई रमाइलो गर्न सिक्नुपर्दछ । चाहे हामी विवाह गरौ या अविवाहित नै रहौं, जिवन एउटा महान उत्सव हो । यदि यो पृथ्वीमा हामी यो जिवनमा रमाउन सक्दैनौ भने स्वर्ग हाम्रो निम्ति दिक्कलाग्दो स्थान हुनेछ । यो जिवनलाई रमाइलो बनाउने काम हाम्रो हो । पति वा पत्नी पाउनेबित्तिकै जिवन सधै रमाइलो हुन्छ भन्ने छैन । विवाह परमेश्वरको योजना भएजस्तै अविवाहित रहने पनि धेरैको निम्ति परमेश्वरको योजना हो । आफ्नो जिवन अहरूहरूको सेवामा समर्पित गरेर जिवनलाई आनन्ददायी बनाउनुपर्दछ ।
हरेक मण्डलीहरूले स्थानिय मण्डलीमा भएका अविवाहित भाइ र बहिनीहरूलाई हौसला दिनुपर्दछ । उनीहरूलाई विवाह गर्नको निम्ति बलजफ्ती गर्नुहुन्न । उनीहरूलाई परमेश्वरमा भरोसा राख्न सिकाउनुपर्दछ । संसारका विभिन्न धर्ममा हे¥यौ भने अविवाहित रहेर सेवा गर्ने मानिसहरू हामी पाउँछौ । उनीहरू अविवाहित रहेकोमा नै हामी उनीहरूसँग रमाउनुपर्दछ ।
तर अविवाहित भएर रहन चाहानेहरूले विवाहितहरूलाई पनि गलत बुझ्नुहुँदैन । मैले केही वर्ष अघि बौद्ध धर्मका भिक्षु तथा गायिका आनी डोल्मा छिरिङको अन्तवार्ता हेरिरहेको थिएँ । उनलाई विवाह गर्नुपर्छ भन्ने मन लाग्दैन भन्ने प्रश्नमा उहाँको जवाफले म चकित भएको थिएँ । उनले भनिन, विवाह गरेको राम्रो लाग्दैन । विवाह गर्नु भनेको समस्याहरूमा झेलिनु हो, जस्ता उत्तर दिइन् । उनको भनाइमा विवाहसम्बन्धी गलत धारणा रहेको पाएँ ।
बाइबल धर्मशास्त्रले पनि अविवाहित रहनु पनि असल हो भनि बताएको छ । तसर्थ कुन असल हो र कुन खराब हो भन्नु उचित देखिदैन । तर कोही अविवाहित नै रहन चाहन्छ भने, उसले असलै गर्दछ । तर यदि तिनीहरूले आपूmलाई वसमा राख्न सक्दैनन भने तिनीहरूले विवाह गरुन् । किनभने कामवासनामा जल्नुभन्दा विवाह गर्नु असल हो (१ कोरिन्थी ७ः९) । साभार र कृतज्ञता  http://ebachan.com/

0 Response to "विवाह गर्ने गलत कारणहरू"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.