-->
मुख्यमन्त्री ममता ब्यानर्जीको तीन दिने कालेबुङ  भ्रमण

मुख्यमन्त्री ममता ब्यानर्जीको तीन दिने कालेबुङ भ्रमण

डी के वाइबा, कालिमन्युज, कालेबुङ 1 सितम्बर 2014। बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी आज कठोर सुरक्षा व्यवस्थाको साथमा कालेबुङ आईपुगेकी छन्। उनी साँझ सात बजे कालेबुङ आईपुगेकी हुन्। तीन दिने कालेबुङ यात्रामा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई आज लेप्चा संगठन ईण्डिजेनस लेप्चा ट्राईबल एसोसिएसनले कालेबुङको प्रवेशद्वार चित्रेमा स्वागत गरेको थियो। 
यस अवधी लेप्चा बिकास बोर्डका अध्यक्ष एल एस तामसाङ, पद्मश्री सोनाम छिरिङ लेप्चा लगायत अन्य लेप्चा समुदायका मानिसहरू पारम्पारिक वेश भूषामा उभिएर ममता ब्यानर्जीलाई स्वागत गरेका थिए। मुख्यमन्त्री ममता ब्यानर्जी केही क्षण वाहनबाट ओर्लिएर मायल्याङ लेप्चा बिकास बोर्ड अध्यक्ष एल एस तामासाङ अनि प्रतिनिधी टोलीसंग कुराकानी समेत गरिन। 
“तपाईँहरूको माया पाएर पुन: कालेबुङ आएकी छु। के कस्तो अवस्थाहरू छ त्यो पनि बुझ्नेछु। मलाई माया दिनुभएवापत तपाईँहरूलाई धन्यवाद छ। अब तपाईँहरूको पहुना भएर केहीदिन बस्नेछु” मुख्य मन्त्री ममता ब्यानर्जीले छोटो समयमा लेप्चा प्रतिनिधीहरूसंग कुराकानी गर्दै भनिन्। यस अवसरमा लेप्चा प्रतिनिधी टोलीले उनलाई पारम्पारिक लेप्चा खदा अर्पण गरेर स्वागत गरेको थियो। 
कालेबुङको प्रवेशद्वार चित्रेमा लेप्चा समुदायको न्यानो स्वागत पछि उनलाई यहाँको नौ माईल नजिक अघिबाटै मुख्य मन्त्रीको स्वागतमा बसेका अल शेर्पा बुद्धिष्ट डेभलपमेन्ट एसोसिएसनका प्रतिनिधी टोलीले पाराम्पारिक रूपमा स्वगत जनायो। बाटो किनारामा मुख्य मन्त्रीको स्वागतमा पारम्पारिक भेष भूषामा सजिएर बसेका शेर्पा समुदायका मानिसहरू देखे पछि ममता ब्यानर्जीले बाहन रोकेर शेर्पा समुदायको स्वागत अभिवादन स्वीकार गरिन। यसक्रममा उनलाई यहाँको थाना डाँडामा पनि हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले भव्य स्वगत जनाएको थियो। यस अवधि मुख्य मन्त्री आफ्नो वाहनबाट कठोर सुरक्षाको साथमा बाहनबाट सडकमा ओर्लिएर सबैको स्वागत अभिवाद स्वीकर गरिन। 
यसरी स्वागत अभिवादन स्वीकार गरेपछि मुख्य मन्त्री ममता ब्यानर्जीको बाहन सोझै डेलो टुरिष्ट लजमा प्रस्थान गरिन्। मुख्य मन्त्री ममता ब्यानर्जीको यसपल्टको कालेबुङ आगमनलाई केन्द्र गरेर लेप्चा समुदाय अनि हिल तृणमूल कङ्ग्रेसले ठाउँ ठाउँमा पोष्टरिङ, स्वागत गेट तथा होर्डिङहरू लगाईसकेको छ। यद्यपी केही अबेर गरेर उनी कालेबुङ आईपुगेको कारण आज स्वागतमा बिगतका दिनहरूको तुलनामा मानिसहरूको उपस्थिति भने न्यून रहेको थियो। हँसिलो मुस्कान लिएर सबैको अभिवादन स्वीकार गर्दै तीन दिने यात्रामा कालेबुङ आईपुगेकी ममता ब्यानर्जीले आगामी 3 सितम्बरको दिन लेप्चा बिकास बोर्डको तीन वर्षे स्थापना दिवस समारोहमा सहभागिता जनाउँने भएको छ।

0 Response to "मुख्यमन्त्री ममता ब्यानर्जीको तीन दिने कालेबुङ भ्रमण "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.